सर्लाही, ५ असार । गृहमन्त्री सुधन गुरुङ र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले संसद्मा प्रश्नहरूको सामना गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभामा मन्त्रीहरूसँग भएको प्रश्नोत्तर कार्यक्रममा दुई मन्त्रीले सांसद्का प्रश्नको सामना गरेका हुन् ।
सुरुमा गृहमन्त्री सुधन गुरुङ रोस्ट्रम पुगे । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नेपाली कम्युनिस्ट पार्टीका सांसद भुवनबहादुर सुनारलाई प्रश्न सोध्न समय दिए ।
सांसद सुनारले अन्तरजातीय विवाहकै कारण हत्या, आगजनी, उठिबास, कुटपिट जस्ता जघन्य आपराधिक घटनाले समाज आक्रान्त भइरहेको उल्लेख गर्दै सिन्धुलीको हिरासतमा रहेका युवक श्रीकृष्ण विश्वकर्माको हत्या भएको विषय उठाए ।
७ वैशाख २०८३ साँझ इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीस्थित हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा विकको उद्धार भएको थियो ।
उद्धार गरेर सिन्धुली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । विकको मृत्यु शंकास्पद रहेको भनेर त्यसबेला छानबिनको माग भएको थियो ।
जनताको जिउधनको रक्षा गर्ने ठाउँबाटै नागरिक मारिनु तथा झुटो बयान गराउनुले सामाजिक न्याय र सुशासनको धज्जी उडाएको भन्दै सांसद सुनारले प्रश्न गरे, ‘श्रीकृष्णको आत्माले न्याय पाउने, परिवारले क्षतिपूर्ति पाउने कार्य भएको छ कि छैन ?’
जवाफमा गृहमन्त्री गुरुङले यस घटनाका सम्बन्धमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको जानकारी दिए ।
‘निज श्रीकृष्ण विकको पोस्टमार्टम रिपोर्टमा ‘ओपिनियन रिगार्डिङ कज अफ डेथ इज द फाइन्डिङ आर कन्सिस्टेन्ट विथ द डेथ विथ द्याट अफ डेट ड्यू टु सोसाइडल ह्याङ्गिङ’ उल्लेख भएको छ,’ गृहमन्त्रीले प्रतिवेदनको अंश नै पढेर सुनाए ।
साथै, हिरासतमा रहँदा प्रहरीले कुनै किसिमको शारीरिक एवं मानसिक यातना दिएको पुष्टि नभएको भनेर प्रतिवेदनमा उल्लेख भएको पनि मन्त्री गुरुङले बताए ।
गृहमन्त्री गुरुङका अनुसार छानबिन समितिबाट प्राप्त अन्य सुझाव तथा सिफारिस नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा कार्यान्वयनका लागि पठाइसकिएको छ ।
गृहमन्त्री गुरुङलाई पूरक प्रश्न सोध्न सभाध्यक्ष दाहालले फेरि समय दिए ।

