सर्लाही, ०६ जेठ । काठमाण्डौबाट स्रोत नखुलेको २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको म्यागङ गाउँपालिका–५ घर भई अहिले बूढानीलकण्ठ नगरपालिका–६ बस्ने ४७ वर्षीय तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका–७ घर भई काठमाण्डौ महानगरपालिका–१६ बस्ने ५० वर्षीय होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

लाजिम्पाटमा रहेको एउटा बारमा अभौतिक मुद्रा (क्रिप्टो)को कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

तारालालको स्रोत नखुलेको २२ लाख रुपैयाँ, अमेरिकी डलर ४० र दस्तखत गरेको तर रकम उल्लेख नगरेका चेकहरू चार थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

साथै उनले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको वाइनान्समा झण्डै २००० युएसडिटी बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको पनि प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथी जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *