सर्लाही, ७ असार । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले देश परिवर्तन र समृद्धिको साझा लक्ष्यका लागि सहकार्य आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै राउतले देश निर्माण र समृद्धिको लक्ष्यसहित देशभरका ७७ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी भएको उल्लेख गरे । उनले पद र प्रतिष्ठिभन्दा माथि उठेर देश परिवर्तनको उद्देश्यका साथ आफू शुभकामना दिन उपस्थित भएको बताए ।

उनले भने, ‘देश बनाउने अठोटका साथ र देशमा केही समृद्धि आओस् भनेर यहाँ ७७ वटै जिल्लाबाट हामी आएका छौं । तर पद र प्रतिष्ठाका लागि तपाईंहरू आउनुभएको होइन ।

यो देश कसरी बदल्ने भन्ने चाहना मलाई पनि भएकोले म शुभकामना दिन यहाँ उपस्थित भएको छु । जुन सपना तपाईंले देख्नुभएको छ, त्यही सपना मैंले पनि देखेको हुनाले आज शुभकामना दिन यहाँ उपस्थित भएको छु ।

म यहाँ कुनै प्रतिस्पर्धीको रूपमा होइन, तपाईंको सहयात्री र सहयोगीको रूपमा शुभकामना दिन यहाँ उपस्थित भएको छु ।’

उनले रास्वपाले देखेको सपना र आफ्नो सपना समान रहेको उल्लेख गर्दै आफू प्रतिस्पर्धीका रूपमा नभई सहयात्री र सहयोगीका रूपमा कार्यक्रममा सहभागी भएको बताए ।

त्यसैगरी, उनले रास्वपाको महाधिवेशनलाई केवल संगठनात्मक कार्यक्रम नभई ‘क्रान्तिको महोत्सव’ को संज्ञा दिए । आफूले पनि देश विकासको सपना बोकेर विभिन्न आन्दोलनहरू गरेको स्मरण गर्दै देश परिवर्तनका लागि सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे ।

उनले भने, ‘यो केवल महाधिवेशन मात्र होइन, क्रान्तिको महोत्सव हो । म पनि तपाईंहरूजस्तै सपना देख्ने मान्छे थिएँ । देश विकासका लागि म यहाँ उपस्थित छु । सपना मात्रै देखेनौं, एकभन्दा एक आन्दोलन पनि गर्यौं ।’ 

सम्बोधनका क्रममा राउतले वर्तमान प्रधानमन्त्रीको व्यक्तित्व, क्षमता र सोचको समेत प्रशंसा गरे । उनले प्रधानमन्त्रीलाई स्मार्ट, बुद्धिमान र जनप्रिय नेताका रूपमा चित्रण गर्दै जनताले व्यापक रूपमा माया गरेको उल्लेख गरे । साथै, प्रधानमन्त्रीले नेपाली जनतालाई खुशी र समृद्ध देख्न चाहेको स्पष्ट सन्देश दिनुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘तपाईंहरूले अहिले हाम्रो प्रधानमन्त्री कस्तो दिनुभएको छ भने एकदमै स्मार्ट, इन्टेलिजेन्ट र स्टाइलिस । युवा, त्यसमा पनि सबैलाई मन पर्ने ।

कुनै दिन विपक्षीहरूले सम्माननीय प्रधानमन्त्रीज्यूलाई कालो लुगा लगाउन निषेध गर्ने ऐन ल्याउनुपर्यो भन्न पनि बेर छैन । त्योभन्दा ठूलो कुरा म उहाँको माइन्डसेटको सलाम गर्छु। जनताले अथाह माया गरेका छन्, सबैतिरका जनताले उत्तिकै माया गरेका छन् ।

त्यसैले तपाईंले पनि ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू ।’

राउतले देशको विकास, समृद्धि र जनताको अपेक्षा पूरा गर्न नेतृत्वले दूरदृष्टि र सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *