सर्लाही, ७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले प्राप्त गरेको मतमा राजाको माग गर्नेहरुको पनि मत भएको बताएका छन् ।

आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजा चाहिन्छ भन्ने पार्टी राप्रपालाई भोट नदिएर बालेन शाहले राजा ल्याउँछन भनेर भोट दिएका मानिसहरू पनि रहेको धारणा राखे । 

उनले भने, ‘तपाईंहरूको भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको पनि भोट छ । राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हो । तर राप्रपालाई भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर भोट दिएका मानिसहरू पनि छन् । त्यसैले तपाईंहरूको जिम्मेवारी विशिष्ट छ, जनताको विशिष्ट चाहना सम्बोधन गर्नुपर्छ ।’

उनले प्राप्त गरेको जनसमर्थन परम्परागत राजनीतिक संगठन र पैसाको बलमा नभइ परिवर्तनको चाहनाबाट आएको बताएका छन् । 

पछिल्लो निर्वाचनको परिणामले परम्परागत राजनीतिक समीकरणलाई चुनौती दिएको उल्लेख गरे ।

उनले भने, ‘यो मतपरिणाम हेर्दाखेरी कुन राजनीतिक दर्शनले, कुन संगठनले काम ग¥यो भन्ने प्रश्न उठ्छ । यो यस्तो निर्वाचन थियो जहाँ राजनीतिक संगठन र पैसाले मात्र काम गरेन । रास्वपाले सबै वडा र गाउँपालिकामा संगठन बनाएको पनि थिएन ।’

उनले मुलुकको समस्या केवल विगतका नेताहरूमा मात्र सीमित नभएको जिकिर गर्दै संविधान र वर्तमान संवैधानिक व्यवस्थामा पनि सुधारको आवश्यकता रहेको बताए ।

उनले भने, ‘समस्या हामीले देखेको हिजोका नेताहरूमा मात्र होइन। नेताहरूमा पनि थियो, त्यसैले जनताले बढारेर फाले। तर समस्या नेतामा मात्र होइन, उनीहरूले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा पनि छ ।’

उनले राष्ट्रिय सहमतिको आधारमा संविधानमा आवश्यक परिवर्तन र सुधार गर्नुपर्ने धारणा राख्दै राजनीतिक दलहरूबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्न आग्रह गरे ।

लिङ्देनले रास्वपाले प्राप्त गरेको अवसरको सही सदुपयोग गर्नुपर्ने उल्लेख गर्दै निषेधको राजनीति होइन, सहमति र सहकार्यको राजनीतिलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘तपाईंहरूले पाएको यो अवसरको सही सदुपयोग गर्नुहोस्। निषेधको होइन, सहमतिको राजनीतिको रूपमा अगाडि बढ्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *