सर्लाही, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यको चुनावमा बढी मत ल्याएर पनि विजयी नभएकी पूजा बास्कतोलाले सर्वाेच्च अदालत जाने भएकी छन् ।
पूजाले आफू अन्यायमा परेको भन्दै अब न्यायका लागि सर्वाेच्चमा रिट दायर गर्ने निर्णय गरेको बनाएकी छन् ।
‘मैले यस विषयमा पार्टीको केन्द्रीय निर्वाचन आयोगमा आधिकारिक उजुरी दर्ता गराइसकेको छु । तर, चित्तबुझ्दो जवाफ नआएको र उल्टै धम्कीपूर्ण शैलीमा विषयलाई दबाउन खोजिएको अनुभव गरेपछि अब म सर्वोच्च अदालतमा रिट दायर गरेर कानुनी उपचार खोज्ने निर्णयमा पुगेकी छु’, उनले फेसबुकमा लेखेकी छन् ।
यस्तो छ उनको भनाइ
प्रेस विज्ञप्ति
म राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश भूगोलतर्फको निर्वाचनमा सहभागी भएँ । तपाईं प्रतिनिधि साथीहरूले मलाई विश्वास गरेर ९१३ मत दिनुभयो । महिलातर्फ शीर्ष २ र खुलातर्फ शीर्ष ५ भित्र पर्ने गरी प्राप्त भएको यो मतप्रति म हृदयदेखि नै आभारी छु ।
तर अत्यन्त दुःखका साथ भन्नुपरेको छ, निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणाममा म भन्दा कम मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुँदा पनि मलाई विधि, प्रक्रिया र स्थापित मापदण्डविपरीत बाहिर राखिएको छ ।
मेरो लागि यो विषय कुनै पद, विजय वा पराजयको प्रश्न होइन । यो पद्धतिको प्रश्न हो । यो सुशासनको प्रश्न हो । यदि लोकतान्त्रिक प्रक्रियाभित्र नै विधि मिचिन्छ, मत परिणामभन्दा फरक नतिजा घोषणा गरिन्छ र त्यसलाई स्वीकार गर्न दबाब सिर्जना गरिन्छ भने त्यसले हामीले निर्माण गर्न खोजेको राजनीतिक संस्कारमाथि नै प्रश्न उठाउँछ ।
लोकतन्त्रको शक्ति परिणाममा मात्र हुँदैन, परिणामसम्म पुग्ने प्रक्रियाको विश्वसनीयतामा हुन्छ । प्रक्रिया निष्पक्ष भयो भने जित्नेले गर्वका साथ जित स्वीकार गर्न सक्छ, हार्नेले सम्मानका साथ परिणाम स्वीकार गर्न सक्छ । तर प्रक्रिया नै अन्यायपूर्ण भयो भने त्यसविरुद्ध आवाज उठाउनु मेरो जिम्मेवारी पनि हो ।
