काठमाडौँ, १५ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुखले अत्यधिक गर्मीका अझै सयौँको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।
आइतबार महादेशभरि फेरि तापक्रमका धेरैवटा रेकर्ड तोडिएका छन् । जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रमा पनि तापक्रमका नयाँ रेकर्ड दर्ता भएका छन् । यो तीव्र गर्मीको लहर पूर्वी युरोपतिर फैलिँदै छ ।
डब्ल्यूएचओ प्रमुख टेड्रोस गेब्रेयससले एक्समा लेखेका छन्, ‘जुन २१ देखि युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १,३०० भन्दा बढी थप मृत्यु रेकर्ड गरिएको छ ।’
टेड्रोसले चेतावनी दिँदै अगाडि लेखेका छन्, ‘युरोप पृथ्वीमा सबैभन्दा छिटो तापक्रम बढ्ने महादेश हो, जहाँ तापक्रम औसतभन्दा दोब्बरले बढिरहेको छ ।’
आइतबार बिहान मात्र फ्रान्सको स्वास्थ्य मन्त्रालयले बुधबारदेखि देशमा अनुमान गरिएभन्दा झन्डै १,००० बढी मृत्यु रेकर्ड गरिएको बताएको छ ।
जसमा धेरैजसो ६५ वर्ष र सोभन्दा माथिका व्यक्ति थिए। घरमै हुने मृत्युको संख्या ४० प्रतिशतले बढेको छ ।
