सर्लाही, १६ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संसदको गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोसाकमा समेत विशेष ध्यान दिनुपर्ने बताएकी छन् ।

६८ औँ संसद् दिवसका अवसरमा मंगलवार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद्लाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसद स्वयं मर्यादित हुनुपर्नेमा जोड दिइन् ।

पछिल्लो समय संसद्को गुणस्तर खस्किँदै गएको जनगुनासोप्रति आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ थियो । संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनका लागि जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने उनले बताइन् ।

‘कार्यव्यवस्था बैठक हुन्छ, अन्य विभिन्न बैठक हुन्छन् । हाम्रा अनौपचारिक बैठक पनि हुन्छन् । ती बैठकमा धेरै विषय सुल्झाउन सकिन्छ, दलहरूबीच छलफल गरेर टुङ्ग्याउन सकिन्छ ।

जब संसदको बैठकमा बस्छौं, जनताका मुद्दामै छलफल गरौँ । किनभने जनताले तिरेको करबाट राज्यकोष सञ्चालन हुन्छ, र त्यही कोषबाट हामी पनि सञ्चालन भइरहेका हुन्छौँ,’ उनले भनिन् ।

संसद्मा बोल्ने भाषा, उच्चारण गर्ने शब्द र संसद्मा आउँदा लगाउने पोसाकदेखि हरेक कुरामा मर्यादित हुनुपर्ने मन्त्री गौतमले बताइन् । ‘यदि हामी संसद्को मान राख्छौँ भने, त्यो मर्यादा हामीले आफ्नै व्यवहारबाट कायम गर्नुपर्छ ।

त्यसो गर्न सक्यौँ भने संसद् मर्यादित छ र संसद्को गरिमा उच्च छ भन्ने कुरा स्वतः पुष्टि हुन्छ,’ उनले भनिन्, ‘त्यसकारण, सम्पूर्ण माननीयज्यूहरूलाई मेरो आग्रह छ-यो जनताको सर्वोच्च थलो हो, जनताका प्रतिनिधि उपस्थित हुने थलो हो ।

यस संस्थालाई सर्वोच्च संस्थाका रूपमा कायम राख्ने दायित्व हाम्रै व्यवहारले देखाउनुपर्छ । हाम्रो आचरणमा कतै पनि कमजोरी नआओस् । म स्वयं यसका लागि शतप्रतिशत प्रयत्न गर्नेछु । यो मेरो आफैँसँग गरेको प्रतिबद्धता हो ।’

संसद्प्रति जनताको दृष्टिकोण सकारात्मक बनाउन र यसको औचित्य पुष्टि गर्न सांसदहरूले आफ्ना आचरणमा सुधार ल्याउनुपर्ने  पनि उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *