सर्लाही, १७ असार । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले विभिन्न माग राख्दै आज पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् ।
‘सुस्ता बचाउ अभियान’को आयोजनामा भइरहेको आन्दोलनअन्तर्गत उनीहरूले भारतीय अतिक्रमण रोक्न प्रभावकारी कूटनीतिक पहल, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउन तथा भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार गौशालाबाट सुरु भएको र्याली बत्तीसपुतली, मैतीदेवी, पुतलीसडक, प्रदर्शनीमार्ग र भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेर सभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागीहरूले दशकौँदेखि सीमा विवाद, नागरिकताविहीन अवस्था र लालपुर्जा नपाउँदा आफ्नै भूमिमा असुरक्षित भएर बाँच्नुपरेको गुनासो गरेका थिए ।
आन्दोलनरत पक्षले सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म प्रदर्शनलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।
