सर्लाही, १८ असार । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा रहेको नगर अस्पताललाई हेल्पिङ ह्यान्डले तीन करोड रुपियाँ बराबरको औजार उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

मङ्गलबार नगर अस्पताल बयलवासमा एक कार्यक्रमबिच हेल्पिङ ह्यान्डका कार्यक्रम व्यवस्थापक जीवप्रसाद पोखरेलले नगरप्रमुख मनोजकुमार आचार्य र उपप्रमुख रन्जितादेवी चौधरीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।

ईश्वरपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महतोले २१३ प्रकारका उपकरण र स्वास्थ्य सामग्री प्राप्त भएको जानकारी दिनुभयो ।  

प्राप्त सामग्रीमा चार थान भेन्टिलेटर, आठ थान इलेक्ट्रिक बेड, बेबी बार्मर, बर्थिङ टेबल, ओटी लाइट, फ्रिजरलगायतका सामग्री रहेका छन् ।

अस्पताललाई प्राप्त सामग्रीमध्ये मुख्य–मुख्य सामग्री नगर अस्पतालमा प्रयोग गरिने र बाँकी स्वास्थ्य चौकीहरुलाई प्रदान गरिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।  

सहयोग प्राप्त भेन्टिलेटरसहितका विशिष्ठकृत उपरकण सञ्चालन गर्न सक्ने जनशक्ति अस्पतालसँग उपलब्ध छैनन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई आवश्यक तालिम प्रदान गरी नगर अस्पतालमा भेन्टिलेटरसहितको सुविधा प्रदान गर्ने लक्ष्य रहेको नगरप्रमुख मनोजकुमार आचार्यले बताउनुभएको छ ।

हेल्पिङ ह्यान्डले तीन करोड रुपियाँको औजार, उपकरण दिएर नगरपालिकालाई ठुलो गुण लगाएको नगरप्रमुख नगरप्रमुख आचार्यको भनाइ छ ।

हेल्पिङ ह्यान्ड र ग्रामीण नारी उत्थान सङ्घले यसअघि पनि नगर अस्पताल बयलवासमा स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरेका थिए ।

ग्रामीण भेगमा रहेको ईश्वरपुर नगरपालिकासहित आसपासका पालिकामा बसोवास गर्ने स्थानीयले आफ्नै ठाउँमा व्यवस्थित स्वास्थ्य उपचार र सुविधा पाउन सकुन् भन्ने उद्देश्यसहित तीन करोड रुपियाँको सामग्री प्रदान गरिएको हेल्पिङ ह्यान्डका कार्यक्रम व्यवस्थपक जीवप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

ईश्वरपुर नगर अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त उपकरणबाट भर्खरै मिर्गौला डायलाइसिस सेवा सञ्चालनमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *