सर्लाही, २० असार । सर्लाहीको लालबन्दीमा लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका नवनिर्वाचित अध्यक्ष विक्रम खड्काले पदभार ग्रहण गरेकै दिन दुई जना अशक्त तथा आर्थिक रूपमा कमजोर व्यक्तिलाई ह्विलचेयर प्रदान गर्दै आफ्नो कार्यकालको सुरुवात गरेका छन् ।
क्लबको २०२६–२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित खड्काले लालबन्दी नगरपालिका–१५ निवासी ४१ वर्षीय आईतबहादुर तोलाङ्गे र लालबन्दी नगरपालिका-१० निवासी ५५ वर्षीय मङ्गलसिंह सिङ्दनलाई लायन्स क्लब अफ लालबन्दी सेन्चुरीको तर्फबाट ह्विलचेयर हस्तान्तरण गरेका हुन् ।
दैनिक जीवनयापनमा सहजता पुगोस् तथा हिँड्डुल गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले आवश्यकताका आधारमा ह्विलचेयर प्रदान गरिएको अध्यक्ष खड्काले बताए ।
उनले “सहयोग भोलि गर्ने भन्दा आज नै गर्नुपर्छ” भन्ने मान्यताअनुसार पदभार ग्रहण गरेकै दिन सेवामूलक कार्यको थालनी गरिएको उल्लेख गरे ।
यस महत्वपूर्ण सामाजिक कार्यलाई सफल बनाउन सहयोग पुर्याउने समाजसेवी व्यक्तित्वहरू तथा अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने साकार शर्मा, गोपाल श्रेष्ठ, राजेश सिंह, मोहन राउत लगायत सम्पूर्ण सहयोगीप्रति अध्यक्ष खड्काले आभार व्यक्त गरेका छन् ।
लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले आगामी दिनमा पनि यस्ता सेवामूलक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
लायन्सको मूल उद्देश्य नै सेवा भएको उल्लेख गर्दै क्लबले समुदायको हित र आवश्यकताका क्षेत्रमा सक्रिय रूपमा योगदान पुर्याइरहने जनाएको छ ।
