सर्लाही, २० असार । सीमावर्ती नाकाबाट हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण मुजेलिया, धनुषाले सञ्चालन गरेको विशेष अभियानमा दुई दिनमै करिब २८ लाख ५ हजार १ सय रुपैयाँ बराबरका अवैध मालसामान बरामद गरिएको छ ।

गणका अनुसार बिहीबार भारतबाट भन्सार छली गरी नेपालतर्फ भित्र्याइँदै गरेको ९ लाख ८६ हजार ३०० रुपैयाँ मूल्य बराबरको किराना सामग्री, लत्ताकपडा तथा एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको थियो ।

यस्तै, शुक्रबार सञ्चालन गरिएको निगरानी तथा चेकजाँच अभियानका क्रममा १८ लाख १८ हजार ८०० रुपैयाँ बराबरका मोबाइल पाट्र्स, लत्ताकपडा र प्रयोग गरिएको एउटा अटोरिक्सा बरामद गरिएको जनाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण मुजेलिया, जनकपुरका गणपति भीमबहादुर बिष्टका अनुसार दुई दिनको अवधिमा बरामद गरिएका सम्पूर्ण अवैध मालसामान आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।

उनले सीमाक्षेत्र हुँदै हुने भन्सार छली र अवैध सामानको ओसार पसार रोक्न निगरानी व्यवस्था थप प्रभावकारी बनाइएको जानकारी दिए ।

सीमावर्ती क्षेत्रमा नियमित गस्ती, चेकजाँच र विशेष अभियानलाई निरन्तरता दिइएको उल्लेख गर्दै गणपति बिष्टले यस्ता गैरकानुनी गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीको सक्रियता अझ सशक्त बनाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *