सर्लाही, १३ भदाै । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण र विनाशकारी बाढीले नुवाकोट जिल्लामा मात्रैपनि ठूलो क्षति देखिएको छ ।
पछिल्लो विवरण अनुसार बाढीबाट विदुर नगरपालिकाका वडा नं. १, २, ४, ५, ७, १० र १२, बेलकोटगढी नगरपालिकाका वडा नं. ५, ७, ८ र ९, तारकेश्वर गाउँपालिकाका वडा नं. २ र ४ तथा किस्पाङ गाउँपालिका वडा नं. २ को शान्तिबजार क्षेत्र मुख्य रूपमा प्रभावित भएका छन् ।
बाढीले जिल्लामा व्यापक मानवीय क्षति पुर्याएको छ । हालसम्म ५१ जनाको शव प्राप्त भइसकेको भए पनि उनीहरूको सनाखत हुन बाँकी रहेको छ ।
यस्तै आफन्तहरूले कार्यालयमा दिएको जानकारी अनुसार ४०५ जना अझै बेपत्ता छन् भने ४० जना नागरिक घाइते भएका छन् । भीषण बाढीका कारण अन्दाजी ७०० देखि ८०० वटा निजी घरहरूमा क्षति पुगेको अनुमान गरिएको छ ।
भौतिक पूर्वाधारतर्फ कृषि विकास बैंकसहित ८ वटा सरकारी कार्यालयका भवन, ३ वटा जलविद्युत गृह र ४ वटा विद्यालय (१ सरकारी र ३ निजी) मा आंशिक क्षति पुगेको छ ।
यातायात क्षेत्रमा १५ वटा पक्की पुल र ९ वटा झोलुङ्गे पुलमा क्षति पुग्दा गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसका साथै केन्द्रीय कारागार नुवाकोटको खम्बा र कम्पाउण्ड पर्खाल बाढीले बगाएको र केही खण्ड पुरिएको छ । कारागार कार्यालय भवनको भुइँतला पुरिए तापनि त्यहाँ रहेका कैदीबन्दीहरू भने सुरक्षित रहेका छन् ।
विपदको यो समयमा तीव्र रूपमा राहत तथा उद्धार कार्य भइरहेको छ । हालसम्म हेलिकप्टरमार्फत १,८२३ जना र स्थलगत रूपमा ८५ जनाको सफल उद्धार गरिएको छ । विस्थापित नागरिकहरूमध्ये ७९१ जनालाई तत्कालका लागि विभिन्न आश्रय स्थलहरूमा व्यवस्थापन गरिएको छ ।
कतिपय प्रभावितहरू आफन्तकोमा बसिरहेकाले उनीहरूलाई पनि आश्रय स्थलमा व्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाढी तथा पहिरोको जोखिम अझै कायमै रहेकाले नदी तटीय क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता र धैर्य अपनाउन अनुरोध गरिएको छ । साथै उद्धार र राहत कार्यलाई अझ प्रभावकारी बनाउन स्थानीय तह, राजनीतिक दल, संघ-संस्था, रेडक्रस, सञ्चारकर्मी र आम नागरिकहरूमा सहयोगका लागि अपिल गरिएको छ ।
