सर्लाही, २२ असार । पूर्वाधारमन्त्री सुनील लम्सालले जनताको पक्षमा इमानदारपूर्वक काम गर्न सबै जनप्रतिनिधि र पदाधिकारी जिम्मेवार हुनुपर्ने बताएका छन् ।
आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ दुलेगौँडामा रास्वपाका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले सो बताएका हुन् ।
यस्तै, उनले काम नगर्ने प्रदेशमन्त्री र मेयरलाई कारबाही गर्ने चेतावनी दिएका छन् । ‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस् ।
आवश्यक कारबाही गर्छौं,’ उनले भने, ‘प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं । चिन्तै लिनुपर्दैन ।’
उनले गैरजिम्मेवार पदाधिकारीमाथि कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताए ।
उनको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसअघि उनले काम नगर्ने ठेकेदाहरूको खुट्टा भाँच्ने चेतावनी दिएका थिए ।
