सर्लाही, २३ असार । सर्लाहीको हरिपुर नगरपालिका–२, सखुवामौजा क्षेत्रमा दुई दिनदेखि देखा परिरहेका जङ्गली हात्तीले स्थानीयलाई आतङ्कित पारेको छ ।

दुईवटा हात्तीले बालीनाली खुँदेर तथा खाएर नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । हात्तीले स्थानीय किसान लोकबहादुर कार्कीको रोपाइँ गर्ने बेला भएको धानको ब्याड खुँदेर नष्ट पारेको छ ।

त्यस्तै, अर्का स्थानीय गोपाल मिश्रको बगैँचामा रहेको आँप नष्ट पारेको गाउँलेले बताएका छन् । हात्तीले गाउँको नीलकमल सामुदायिक वनमा जडान गरिएको चापाकलसहित अन्य संरचना र किसानको बालीनालीमा व्यापक क्षति पुर्‍याएको सखुवामौजाका स्थानीय ध्रुवप्रसाद प्रसाईले जानकारी दिनुभयो ।

सागरनाथ वन विकास परियोजनाको जङ्गलसँग जोडिएको यस क्षेत्रमा बारम्बार जङ्गली हात्ती आएर किसानलाई दुःख दिने र बालीनालीमा क्षति पुर्‍याउँदै आएका छन् ।

धान रोपाइँ र खेतबारीको अन्य काम गर्ने चटारो परेको समयमा हात्ती आएपछि किसानमा त्रास सिर्जना भएको प्रसाईले बताउनुभयो ।

किसानले हात्तीका कारण साँझ–बिहान र रातको समयमा हिँड्डुल गर्नै जोखिम भएको गुनासो गरेका छन् । सर्लाहीमा सखुवामौजासहित जानकीनगर, घुर्कौली, मूर्तिया, रानिगन्ज, सागरनाथ, श्रीनगर, हरकठवा, भक्तिपुरलगायत क्षेत्रमा बर्सेनि जङ्गली हात्तीको बथान आउने गरेका छन् । 

डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोषकुमार झाले आफ्नो पुर्खा हिँड्ने र बासस्थान रहेको ठाउँमा जङ्गली हात्ती घरीघरी आइरहने बताउनुभएको छ । केही समय यस क्षेत्रमा आएर बस्ने हात्ती पुनः फर्किएर पर्सा राष्ट्रिय निकुञ्जतर्फ जाने गरेका उहाँले जानकारी दिनुभयो ।

हात्तीले यसरी बारम्बार आएर क्षति पुर्‍याए पनि सम्बन्धित निकायबाट अहिलेसम्म कुनै प्रकारको राहत र हात्ती धपाउन सामान्य सहयोगसमेत नभएको स्थानीयको गुनासो छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *