सर्लाही, २५ असार । निजीक्षेत्रका प्रतिनिधिसँगकाे भेटपछि प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा तिनको समाधानका उपायबारे आज निर्माण व्यवसायीसँग छलफल लागेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठकमा निर्माण क्षेत्रका विद्यमान समस्या, नीतिगत सुधार, सरकारी सहजीकरण तथा सरकार–निर्माण व्यवसायीबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर छलफल हुनेछ ।

सरकारले निर्माण क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी र सहज बनाउने उद्देश्यले सरोकारवालासँग नियमित संवादलाई प्राथमिकता दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *