सर्लाही, २५ असार । मिटरब्याज पीडितहरूले फेरि एकपटक न्यायको माग गर्दै काठमाडौंसम्म पैदल यात्रा सुरु गर्ने भएका छन् । मिटरब्याजविरुद्ध किसान-मजदुर आन्दोलनको केन्द्रीय आयोजनामा बिहीबारदेखि जनकपुरधामको तिरहुतिया गाछीबाट काठमाडौंसम्म ‘मिटरब्याजविरुद्ध पैदल न्याय मार्च-३’ सुरु हुन लागेको हो ।
आन्दोलन आयोजकका अनुसार सरकारसँग हालसम्म चार पटक सहमति भए पनि कुनै सहमति प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले पुनः पैदल यात्रा गर्नुपरेको हो । यसअघि भएका सहमतिअनुसार आयोग गठन, कानुनी व्यवस्था तथा पीडितलाई न्याय दिलाउने प्रतिबद्धता गरिए पनि व्यवहारमा कार्यान्वयन शून्यजस्तै रहेको उनीहरूको आरोप छ ।
आन्दोलनकारीहरूले विगत चार वर्षदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना, सिंहदरबार र बालुवाटार घेराउ, अदालत घेराउ तथा गाउँ-गाउँमा घरजग्गाको भोगचलन कायम राख्न स्थानीय संघर्ष गर्दै आएको बताएका छन् ।
२०७९ सालमा नवलपरासी र पश्चिम तराईका पीडितहरूको नेतृत्वमा पहिलोपटक काठमाडौंमा धर्ना कार्यक्रम गरिएको थियो । त्यसपछि २०८० सालमा महोत्तरीको बर्दिबासदेखि काठमाडौंसम्म तथा मेची-महाकालीदेखि काठमाडौंसम्म दुई पटक पैदल न्याय मार्च गरिएको उनीहरूले स्मरण गरेका छन् ।
आन्दोलनका अनुसार सरकार र मिटरब्याज पीडितबीच पटक-पटक सहमति भई उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको, मिटरब्याजलाई अपराध घोषणा गर्ने कानुनी व्यवस्थासमेत बनेको भए पनि ती व्यवस्था कागजमै सीमित भएका छन् । प्रशासनिक उदासीनता, कार्यान्वयन संयन्त्रको कमजोरी तथा स्थानीय तहमा साहुमहाजनहरूको राजनीतिक र आर्थिक पहुँचका कारण पीडितहरूले न्याय पाउन नसकेको उनीहरूको भनाइ छ ।
उनीहरूका अनुसार आयोग गठन र कानुन बनेपछि पनि मिटरब्याजीहरूले धम्की दिने, पक्राउ पुर्जी जारी गराउने, घरजग्गा लिलामी गर्ने तथा मानसिक र आर्थिक यातना दिने क्रम रोकिएको छैन । त्यसैले आफूहरू पुनः सडक संघर्षमा उत्रिन बाध्य भएको उनीहरू बताउँछन् ।
आन्दोलनकारीहरूले नवनिर्वाचित सरकारले सार्वजनिक गरेको १०० दिने कार्यक्रममा पनि मिटरब्याज पीडितको न्यायका विषयलाई प्राथमिकता नदिएको बताएका छन् । गृह मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म धाउँदासमेत समस्या समाधानको सट्टा एकअर्कालाई जिम्मेवारी पन्छाउने काम मात्रै भएको उनीहरूको आरोप छ ।
खेतीपातीको मुख्य समयमा समेत पीडितहरूमाथि पक्राउ पुर्जी जारी गर्ने, घरजग्गा लिलामी गर्ने, शारीरिक हिंसा तथा मानसिक यातनाका कारण आत्महत्यासम्म गर्न बाध्य हुने अवस्था नरोकिएको आन्दोलनकारीहरूको भनाइ छ । यसै कारण आज (२५ असार) देखि जनकपुरधामको तिरहुतिया गाछीबाट काठमाडौंसम्म पैदल यात्रा सुरु गर्न लागेको उनीहरूले बताएका छन् ।
आन्दोलनकारीहरूले यो कुनै राजनीतिक दलको आन्दोलन नभई किसान, मजदुर र साना व्यवसायीहरूको पीडाबाट जन्मिएको स्वस्फूर्त न्यायिक संघर्ष भएको बताएका छन् । देशभरका मिटरब्याज पीडितहरू ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने भावनाका साथ आन्दोलनमा सहभागी हुने जनाउँदै आयोजकले सम्पूर्ण न्यायप्रेमी नागरिक, सञ्चारकर्मी तथा अधिकारकर्मीलाई ऐक्यबद्धता र सहयोगका लागि अपिल गरेका छन् ।
