सर्लाही, २७ असार । काठमाडौँको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको मृत्यु भएको छ ।
व्यवसायी राउतको शनिबार अपराह्न वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालले जानकारी दिए । अस्पताल ल्याउँदा नै उनको अवस्था चिन्ताजनक रहेको डा. दाहालले बताए ।
‘अस्पताल ल्याउँदा नै चिन्ताजनक अवस्था थियो । धेरै कम्प्लिकेसन आइसकेका थिए,’ डा. दाहालले भने ।
डा. दाहालका अनुसार, व्यवसायी राउतको शरीरमा ६० प्रतिशतभन्दा बढी जलन भएको थियो । उनी अस्पताल ल्याउँदा बेहोस नै थिए ।
‘बेहोस अवस्थामै अस्पताल पु¥याइएको थियो। एक पटक सीपीआर दिएर मुटुको चाल फर्किएको थियो,’ डा. दाहालले भने, ‘दोस्रो पटक मुटुको चाल रोकिँदा सीपीआरले पनि काम गरेन ।’
शनिबार बिहान काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित आफ्नै घरमा ४५ वर्षीय राउतले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले जलेर घाइते भएका राउतलाई प्रहरीले वीर अस्पताल पुर्याएको थियो ।
पारिवारिक विवादका कारण व्यवसायी राउतले आफ्नै शरीरमा आगो लगाएको देखिएको प्रहरीको भनाइ छ ।
पछिल्लो तीन दिनमा तीन जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा आगो लगाएका थिए। उनको शुक्रबार उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ ।
त्यस्तै, शुक्रबार सर्लाहीका विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । सर्लाहीको गौडेता नगरपालिका-१० का ३५ वर्षीय विवेकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ । उनको अवस्था पनि गम्भीर रहेको छ ।
