सर्लाही, २८ असार । जनकपुरबाट ४ दिनअघि काठमाडौंसम्मको पैदल मार्चमा हिँडेका मिटरब्याज पीडितहरू सर्लाहीको हरिवन आइपुगेका छन् ।
उनीहरूले जनकपुरको तिरहुतियागाछीबाट पैदल मार्च सुरू गरेका थिए । जुन ठाउँमा गत चुनावमा रास्वपाले पहिलो चुनावी सभा गरेको थियो । जहाँबाट पीडितहरूले फर्जी तमसुक जलाएर मार्च सुरू गरेका थिए ।
वालेन्द्र साहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधामबाटै गरेको सम्बोधनमा मिटरब्यजबाट पीडित भएकाहरूको समस्या समाधान गर्ने उद्घोष गरेता पनि १०० दिन बितिसक्दा पनि आफूहरुलाई बेवास्ता गरेको उनीहरूको गुनासो छ ।
जेनजी अगुवा लक्ष्मी घिमिरेका अनुसार ४५ जिल्लाका चार सयभन्दा बढी पीडितहरू पैदल मार्चमा सक्रिय छन् ।
घिमिरेका अनुसार लगातारको हिँडाइले पीडितहरूको खुट्टामा ठेला उठ्न सुरू गरेको छ । प्राय: सबैको खुट्टामा पानीका फोकाहरू उठेका छन् । घिमिरेले भनिन्, ‘अहिले हरिवनमा चिउरा र आँप खाइरहेका छौँ ।’
उनीहरूले तमसुक व्यवस्था खारेज गरिनुपर्ने, मिटरब्याज पीडितको पक्षमा विशेष ऐन ल्याउनुपर्ने, पीडितहरूको चल-अचल सबै सम्पत्ति फिर्ता गरिनुपर्ने लगायत माग राखेका छन् ।
साउन दोस्रो साता काठमाडौं आइपुग्ने उनीहरूको योजना छन् ।
