सर्लाही, ३० असार । सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सोमबार प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएको भन्दै दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरे । तर उनको नियुक्ति अरु दाबेदार प्रतिस्पर्धीको अन्तर्वार्ता नसकिँदै गरेको खुलेको छ ।
मन्त्रिपरिषद्को २४ असारको निर्णयमा घिमिरेको नियुक्ति भएको सञ्चारमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका थिएनन् । उनले सार्वजनिक गरेको सरकारका आठवटा निर्णयमा घिमिरेको नियुक्तिको विषय उल्लेख नै थिएन ।
अर्कोतिर निर्णय सार्वजनिक नभए पनि मन्त्रिपरिषद् बैठक सकिने बेलासम्म प्राधिकरणको अध्यक्षको लागि लिइएको अन्तर्वार्ता चल्दै थियो ।
अर्थात् अध्यक्षको लागि नाै प्रतिस्पर्धीमध्ये सुशीलप्रसाद साहको अन्तर्वार्ता २४ असार साँझ ४ः५५ बजेदेखि ५ः ४५ बजेसम्म तोकिएको थियो । जबकि उनीसहित अरु उम्मेदवारको अन्तर्वार्ता नसकिँदै मन्त्रिपरिषद् बैठक बसेको थियो ।
सो दिन साढे तीन बजे मात्रै मन्त्रिपरिषद्को बैठक बस्ने सूचना जारी गरिएको थियो । मन्त्रिपरिषद् बैठक बसेर पाैने ५ बजेभन्दा अगाडि नै सरकारका निर्णय सार्वजनिक गरिएको थियो ।
एक जनालाई ५० मिनेटको समय तोकेर अन्तर्वार्ताको लागि बोलाइएको थियो । यस्तोमा मन्त्रिपरिषद्को बैठक बसिरहँदा कम्तीमा दुई जनाको अन्तर्वार्ता लिनै बाँकी थियो ।
अन्तर्वार्ता सकिएपछि सो दिन मन्त्रिपरिषद्को अर्को बैठक पनि बसेको थिएन । तर सोमबार निर्णय आउँदा भने असार २४ को मन्त्रिपरिषद्को निर्णयअनुसार घिमिरेको नियुक्ति भएको दाबी गरिएको छ ।
यस्तो दाबी गरिएपछि सो दिन अन्तर्वार्ता दिएका उम्मेदवार नै छक्क परेका छन् । ‘हामी प्रतिस्पर्धीमध्ये हरेकलाई ५० मिनेटको समय दिइएको थियो ।
सञ्चार मन्त्रालयले जारी गरेको तालिकाअनुसार नै अन्तर्वार्ता चलिरहेको थियो,’ एक प्रतिस्पर्धीले भने, ‘तर त्यस दिन अन्तर्वार्ता नसकिँदै मन्त्रिपरिषद् बैठकको निर्णय आएको थियो ।
सोही दिनको निर्णयअनुसार प्राधिकरणको अध्यक्ष नियुक्ति भएको भन्दा हामी पनि छक्क परेका छौँ । कम्तीमा सबैको अन्तर्वार्ता सकिएपछि मात्रै निर्णय गरिएको भए स्वाभाविक मान्न सकिने थियो । हामीलाई यसले अचम्मित बनाएको छ ।’
