सर्लाही, ३० असार ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारको चर्को आलोचना गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वालेन्द्र शाह (बालेन)लाई प्रश्न गर्न नपाइने वातावरण बनाउन खोजेको आरोप लगाए । उनले बालेनलाई व्यंग्यात्मक रूपमा ‘श्री ८’ को संज्ञा पनि दिए ।

राईले भने, ‘सरकारले श्री ८ बालेन्द्रलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजेको छ । देशमा रहेको संविधान र कानुनी परिधिभित्र रहेर उठ्ने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भन्ने चेतावनी नागरिकलाई यो सरकारले दिइरहेको छ ।’

उनले अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्न खोजिएको आरोप लगाउँदै भने, ‘यो सरकार पनि भन्दैछ– तँ बोल, जति म सुन्न चाहन्छु । तँ हेर, जति म देखाउन चाहन्छु । तँ सुन, त्यति मात्र जति म सुनाउन चाहन्छु । तेरो स्वतन्त्रता मैले कोरेको शून्यभन्दा बाहिर छैन ।’

सांसद राईले सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरीत अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि अंकुश लगाउने दिशामा अघि बढेको आरोपसमेत लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *