सर्लाही, ३० असार । हेटौँडा–काठमाडौँ आउजाउ गर्ने छोटो दूरीका सबै सडक बाढी-पहिरोको कारण अवरुद्ध बनेका छन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा हुँदै काठमाडौँ जाने कान्तिलोकपथ सडक अर्को सूचना जारी भएसम्मका लागि बन्द गरेको छ भने अन्य तीनवटा सडक खण्ड पनि पहिरोका कारण अवरुद्ध बनेका छन् ।
हेटौँडादेखि भैँसै–भीमफेदी सडकखण्डम ठाउँ–ठाउँमा पहिरो गएका कारण सबै सवारीलाई हेटौँडा बजार क्षेत्रमै होल्ड गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भैँसे–पालुङ–नौबिसे सडकखण्डमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ । भैँसेदेखि सिमभञ्ज्याङसम्मका विभिन्न स्थानमा पहिरोको जोखिमका कारण सवारी सञ्चालनमा रोक लगाइएको हो ।
हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डमा पर्ने सुकौराको पहिरो राति नै हटाइसकिएको छ । तथापि, पहिरोको जोखिम कायमै रहेकोले तत्काललाई सवारी आउजाउमा रोक लगाएको प्रहरीले जनाएको छ ।
हेटौँडा–सिस्नेरी–काठमाडौँ सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीमा आएको बाढीले सवारी आवागमनलाई असहज बनाएपछि त्यहाँ पुगेका सवारीलाई रातभर होल्ड गराइएको थियो ।
मंगलबार (आज) केहीबेर अघिबाट बीचमा रोकिएका साना सवारीलाई सिस्नेरीबाट पास गराउन सुरु गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार हालका लागि हेटौँडा–काठमाडौँ आउजाउ गर्न सिन्धुलीको सडक र नारायणगढको सडकको लागि मात्रै अनुमति दिइएको छ । त्यसबाहेकका सबै सडक सञ्जालहरूमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरोको जोखिम रहेपनि हेटौँडा हुँदै जाने सवारीहरुलाई होल्ड गरिएको छैन। तर चितवन प्रशासनले भने अहिले नारायणगढ–मुग्लिङ सडमा पनि गाडी चल्न दिएको छैन।
