सर्लाही, ३२ असार । सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा ठक्कर दिई एक किशोरको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर भागेको देखिएको छ ।
दुर्घटना वा हत्या हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए।
मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–५ मोहनपुर निवासी मोहम्मद सदामाका १४ वर्षीय छोरा मोहम्मद सादिक रहेका छन्। उनी सदामका एकलो छोरा थिए । प्रहरीले भारतको मधुवनी खतौनी पिपराहीका वर्ष २८ वर्षीय मो. सादर नटलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी बिसनपुरका प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा बिसनपुर–बोदेबरसाईन सडक खण्डमा खटिएको प्रहरी टोलीले शंका लागि मोटरसाइकल पछ्याएको थियो । त्यसक्रममा बीआर–३२ बी–९७६४ नम्बरको अपाचे मोटरसाइकलमा सवार दुई जनाले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर पश्चिम–दक्षिणतर्फ बोदेबरसाईन नगरपालिका–२ हुदै खडक नगरपालिका – १ स्थित दिनाभद्री थान क्षेत्र नजिक शव फालेर भाग्न खोजेका थिए । सो क्रममा एक भारतीय नागरिकलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।
अर्का एक जना व्यक्ति भने फरार भएका छन्। घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी तथा घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति बोदेबरसाईन नगरपालिका- ५ स्थित सत्रुघ्न चोकमा सञ्चालनमा रहेको सोनु मिट हाउसका कामदार हुन् ।
आक्रोशित आफन्तजन तथा स्थानीयवासीले बिहीबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका ६ कठौनामा ३० मिनेट सडक अवरुद्ध गरेका थिए ।
