सर्लाही, ०१ साउन । नेपाल विद्युत् प्राधिकरणले साउन १ गतेदेखि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको बिजुली महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने भएको छ । प्राधिकरणले नयाँ व्यवस्था अनुसार बिलिङ प्रणाली अद्यावधिक गरिसकेको जनाएको छ ।
सरकारको निर्णयअनुसार पहिलो ५० युनिटसम्मको विद्युत् महसुल भ्याटमुक्त रहनेछ । त्यसैले ५० युनिट वा सोभन्दा कम विद्युत् खपत गर्ने ग्राहकले अतिरिक्त भ्याट तिर्नुपर्ने छैन । तर ५१ युनिटदेखि माथिको विद्युत् महसुलमा ५ प्रतिशत भ्याट जोडिनेछ ।
पछिल्ला वर्षमा पानी तान्ने मोटर, गिजर, हिटर, इन्डक्सन तथा इन्फ्रारेड चुल्होजस्ता विद्युतीय उपकरणको प्रयोग बढेसँगै अधिकांश घरधुरीको मासिक विद्युत् खपत ५० युनिटभन्दा माथि पुग्ने अवस्था रहेको छ । ऊर्जा क्षेत्रका जानकारले यस्तो व्यवस्थाले विद्युतीकरण अभियानमा केही असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
प्राधिकरणका अनुसार ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहक ३० लाखभन्दा बढी छन् भने ५१ देखि १५० युनिटसम्म खपत गर्ने करिब १२ लाख घरधुरी नयाँ भ्याटको दायरामा पर्नेछन् । यस्तै, १५१ देखि २५० युनिटसम्म विद्युत् प्रयोग गर्ने साढे दुई लाखभन्दा बढी ग्राहक पनि प्रभावित हुनेछन् ।
उदाहरणका लागि, मासिक १०० युनिट विद्युत् खपत गर्ने ५ एम्पियर मिटर भएका ग्राहकको हालको आधारभूत महसुल ८३५ रुपैयाँ रहेको छ ।
साउन १ गतेदेखि ५१ देखि १०० युनिटसम्मको महसुलमा ५ प्रतिशत भ्याट लाग्दा थप २३ रुपैयाँ ७५ पैसा तिर्नुपर्नेछ । यसरी कुल बिल ८५८ रुपैयाँ ७५ पैसा पुग्नेछ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने पहिलो ५० युनिटमा भ्याट नलाग्ने भएकाले सबै ग्राहकले पूर्ण ५ प्रतिशत भार नबेहोर्ने बताएका छन् ।
उनका अनुसार १५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको प्रभावकारी भ्याट करिब ३ प्रतिशत र २५० देखि ३०० युनिटसम्म खपत गर्नेको करिब ४.२ प्रतिशत मात्रै पर्नेछ ।
यद्यपि, भ्याटका कारण उपभोक्तालाई पर्ने असर न्यूनीकरण गर्न विद्युत् महसुल समायोजन वा विपन्न वर्गलाई थप राहत दिने विषयमा सरकारले हालसम्म कुनै निर्णय गरेको छैन ।
