सर्लाही, ०१ साउन । प्रधानमन्त्री बालेन शाहले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन नेपालका पदाधिकारीसँग जुत्ता उद्योगका समस्या र समाधानका उपायबारे छलफल गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा आयात–निर्यात, चोरी पैठारी (तस्करी), दक्ष जनशक्तिको अभाव तथा जुत्ता उद्योगसँग सम्बन्धित अन्य समसामयिक विषयमा विस्तृत छलफल भएको हो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै एशोसिएसनका अध्यक्ष सुरज बञ्जाडले उद्योगीहरूले सामना गरिरहेका विभिन्न समस्याबारे प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराइएको बताए ।

उनले आयात–निर्यातको प्रक्रिया, बजारमा भइरहेको चोरी पैठारी नियन्त्रण, दक्ष जनशक्तिको अभावलगायतका विषयमा सरकारको सहयोग आवश्यक रहेको भन्दै यी सबै विषयमा सकारात्मक छलफल भएको जानकारी दिए ।

अध्यक्ष बञ्जाडका अनुसार प्रधानमन्त्रीले उद्योगीका समस्यालाई गम्भीरतापूर्वक लिँदै तत्काल गर्न सकिने कामहरू शीघ्र अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने,‘समग्र रूपमा हामीले आयात–निर्यातदेखि लिएर बजारमा भइरहेको चोरी पैठारी, हामीसँग रहेको दक्ष जनशक्तिको समस्या तथा फुटवेयर उद्योगसँग सम्बन्धित विभिन्न विषयवस्तु उठाएका थियौं ।

ती सबै विषयमा प्रधानमन्त्रीज्यूसँग विस्तृत छलफल भयो। छलफल सकारात्मक रह्यो । प्रधानमन्त्रीज्यूले पनि हामीले उठाएका विषयलाई सकारात्मक रूपमा लिनुभएको छ र तत्काल गर्न सकिने कामहरू अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।’

उनले उक्त छलफल जुत्ता उद्योगको प्रवद्र्धन र उद्योगीका समस्या समाधानतर्फ सकारात्मक सुरुआत भएको विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *