सर्लाही, ४ साउन । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले ३७ बुँदे मार्गनिर्देशन जारी गरेको छ ।
सोमबार अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले जारी गरेको मार्गदर्शनमा आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ ।
विनियोजन ऐन, २०८३ तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्वसम्बन्धी कानुनको पूर्ण परिपालना गर्न अर्थ मन्त्रालयले सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ ।
मार्गनिर्देशमा इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाउन भनिएको छ । त्यस्तै, कार्यालय सञ्चालनका लागि सरकारी भवनकै प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिइएको छ ।
यसैगरी, सार्वजनिक खर्चलाई मितव्ययी बनाउने नीति अनुरूप नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणमा पूर्वस्वीकृति लिन भनिएको छ । आयोजनाहरूमा सिर्जना हुन सक्ने वित्तीय जोखिमको आकलन गरी न्यूनीकरणका उपाय अपनाउन पनि सचेत गराइएको छ ।
अर्थ मन्त्रालयले मार्गनिर्देशनमार्फत सशर्त अनुदान र वैदेशिक सहायताका कार्यक्रम तोकिएको सम्झौता र निर्देशिकाभन्दा बाहिर गएर खर्च नगर्न भनेको छ ।
यससँगै बजेटको दोहोरोपना र बेथिति रोक्न सूचना प्रणाली (एलएमबीआईएस) को प्रयोग र नियमित अनुगमनमा जोड दिएको छ ।
