सर्लाही, ४ साउन । सर्लाहीमा तरकारी खेती गर्ने किसान अविरल वर्षा र सस्तो मूल्यको मारमा परेका छन् । अविरल वर्षाका कारण तरकारी उत्पादन गर्न कठिन भइरहेका बेला बजारभाउसमेत असाध्य सस्तो हुँदा किसान मर्कामा परेका हुन् ।
बजारमा हरेक तरकारी सस्तो हुँदा लागत र हैरानीसमेत नउठ्ने अवस्था रहेको लालबन्दी नगरपालिका–१७, रानीगन्जका किसान प्रवीण पौडेलले गुनासो गर्नुभयो ।
बजारमा अहिले प्रत्येक तरकारीको मूल्य आधाभन्दा धेरैले घट्दा लगानी कसरी उठाउने भन्ने चिन्ताले सताउने गरेको पौडेलको भनाइ छ ।
उहाँले भन्नुभयो, “कामदार, मलखाद र विषादीको मूल्य कहिल्यै घट्दैन बरु निरन्तर बढिरहेको छ तर तरकारीको भाउ भने बढ्नुको साटो दिनदिनै घटिरहन्छ ।”
तरकारी खेतीमा लागत र मेहनत अनुसार मूल्य पाउने व्यवस्था नहुँदा किसानलाई खेतीमा टिकिरहन मुस्किल परेको पौडेलले गुनासो गर्नुभयो ।
लालबन्दी थोक तरकारी बजारमा तरकारी बिक्री गर्न ल्याउने हरेक किसान सस्तो मूल्यमा तरकारी बिक्री गर्नुपर्दा निराश भई घर फर्कने गरेका छन् ।
सर्लाहीका किसानले उत्पादन गरेको हरेक तरकारी अहिले सस्तो छ । किसानसँग थोक व्यापारीले सस्तोमा खरिद गर्ने तरकारी उपभोक्तासम्म पुग्दा भने महँगो भइसकेको हुन्छ ।
यहाँका किसानले उत्पादन गरेको हरियो तरकारीमध्ये अहिले सबैभन्दा बढी मूल्य बोडीको मात्र रहेको छ । किसानले बोडी प्रतिकेजी ६० देखि ७० रुपियाँमा बिक्री गरिरहेका छन् ।
सबैभन्दा सस्तो परबल प्रतिकेजी १५ देखि २० रुपियाँमा बिक्री भइरहेको छ । बजारमा परबल अत्यधिक भित्रिएकाले भाउ सस्तो भएको लालबन्दी थोक तरकारी बजारका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले बताउनुभयो ।
स्थानीय किसानले उत्पादन गरेको भिन्डी प्रतिकेजी २५ देखि ३० रुपियाँ, भान्टा ५० देखि ६० रुपियाँ, घिरौँला २० देखि २५ रुपियाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।
बिचमा एक साता त तरकारीको मूल्य योभन्दा पनि सस्तो भएको तर अहिले अविरल वर्षाका कारण उत्पादन घटेकाले मूल्य बढ्न थालेको बजारका व्यवस्थापक घिमिरेले बताउनुभयो ।
घिमिरेका अनुसार लालबन्दी बजारबाट दैनिक आठ ट्रकसम्म तरकारी काठमाडौँसहितका सहरमा गइरहेको छ । उहाँले भन्नुभयो, “पानी पर्ने समयमा तरकारीको मूल्यमा घटबढ भइरहन्छ तर यहाँबाट हुने निर्यात त सामान्य अवस्थामै भइरहेको छ ।”
