सर्लाही, ५ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।
समझदारीअनुसार आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडबाट ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको छ । नयाँ योजनाअन्तर्गत उच्च रक्तचाप, मधुमेह लगायत दीर्घरोगका औषधिसमेत स्वदेशमै उत्पादन गरिनेछ ।
यसका लागि आवश्यक अनुसन्धान तथा विकास (R&D), गुणस्तर परीक्षण, उत्पादन अनुमति तथा प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ ।
समझदारीअनुसार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गरिने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइनेछ ।
यस समझदारीपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच संस्थागत र नियमित प्रणालीमार्फत हुने व्यवस्था गरिनेछ ।
यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
मन्त्रालयका अनुसार नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिनेछ ।
मन्त्रालयले यस पहलबाट स्वदेशी औषधि उद्योगको प्रवर्द्धन, औषधिमा आत्मनिर्भरता अभिवृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने सरकारको दीर्घकालीन लक्ष्यलाई थप सशक्त रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ ।
