काठमाडौँ, ५ साउन । भारतले डेंगी नियन्त्रणका लागि पहिलोपटक खोप प्रयोगको अनुमति दिएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको ‘क्युडेङ्गा’ खोपलाई ४ देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृति दिइएको जनाएको छ ।

जलवायु परिवर्तन, तीव्र सहरीकरण र बढ्दो तापक्रमका कारण डेंगीको जोखिम बढिरहेका बेला यो निर्णयलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ) ले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्यांकनपछि स्वीकृति प्रदान गरेको हो ।

मन्त्रालयका अनुसार उक्त खोप ४ देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा डेंगी रोगको रोकथामका लागि प्रयोग गरिनेछ । ‘क्युडेङ्गा’ खोप दुई मात्रा (डोज) मा दिइनेछ । यसमा दोस्रो मात्रा पहिलो खोप लगाएको तीन महिनापछि लगाइने व्यवस्था छ ।

टाकेडाले भारतमा खोपको उत्पादन र आपूर्ति विस्तार गर्न भारतीय कम्पनी बायोलोजिकल ईसँग सहकार्य गरिरहेको जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त खोपले डेंगी भाइरसका सबै चार प्रकार (सेरोटाइप) विरुद्ध सुरक्षा प्रदान गर्छ । यो खोप युरोपेली संघ (ईयू), बेलायत, स्विट्जरल्यान्ड, इन्डोनेसियासहित ४२ देशमा प्रयोगका लागि स्वीकृत भइसकेको छ । साथै यसले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को पूर्वयोग्यता (प्रि-क्वालिफिकेसन) पनि प्राप्त गरेको छ ।

हालसम्म विश्वभर २ करोड ४० लाखभन्दा बढी मात्रा वितरण भइसकेको र यसको प्रयोगका क्रममा कुनै गम्भीर सुरक्षा समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डब्ल्यूएचओका अनुसार विश्वको जनसंख्यामध्ये झन्डै आधा व्यक्ति डेंगीको जोखिममा छन् । प्रत्येक वर्ष विश्वभर अनुमानित १० करोडदेखि ४० करोडसम्म मानिस डेंगीबाट संक्रमित हुने गरेका छन् ।

पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, मौसमको बदलिँदो स्वरूप र तीव्र सहरीकरणका कारण डेंगीको संक्रमण उल्लेखनीय रूपमा बढेको छ ।

भारतको पछिल्लो आधिकारिक तथ्यांकअनुसार सन् २०२१ यता त्यहाँ १० लाखभन्दा बढी डेंगी संक्रमण पुष्टि भएको भने कम्तीमा एक हजार ५०० जनाको मृत्यु भएको छ ।

यसैबिच भारतमै विकास भइरहेको पानासिया बायोटेकको ‘डेन्गीअल’ नामक डेंगी खोप अन्तिम चरणको क्लिनिकल परीक्षणमा पुगेको छ ।

स्वीकृति प्राप्त गरेपछि यो विश्वकै पहिलो एकल मात्रा (सिङ्गल डोज) डेंगी खोपमध्ये एक बन्न सक्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *