सर्लाही, ६ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोशाक उद्योगको विकासका लागि सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री शाहले आज तयारी पोशाक उद्योग सङ्घका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्नुभएकाे थियाे । छलफलमा उहाँले तयारी पोशाक उद्योगमा संलग्न व्यवसायीको हितमा सरकार सधै ऐकबद्धता हुने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगसँग सम्बद्ध व्यवसायीसँगको भेटपछि विभागीय मन्त्रीलाई तत्काल ‘टेक्सटाइल एन्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन गर्न निर्देशन दिनुभयो ।

तयारी पोशाक व्यवसायीले काउन्सिल गठनले स्वदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित तयारी पोशाकको निर्यात प्रवर्द्धन र आयात व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरेका छन् ।

उद्योगी तथा व्यवसायीको माग बमोजिम प्रधानमन्त्रीले रुग्ण उद्योगलाई तत्काल शुरू गर्न उद्योग मन्त्रालयलाई थप निर्देशन दिनुभयो ।

उहाँले निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक लगानी (एफडीआई) ल्याउन तयारी पोशाक वस्तु अमेरिकामा रोकिएको र ‘टेस्टिङ सर्टिफिकेशन’ नभएकाले त्यसको बाटो खुलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभयो ।

‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ उद्देश्य पूरा गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरिने प्रधानमन्त्रीले  प्रतिबद्धता जनाउनुभयो ।

नेपाललाई अल्पविकसित देशबाट विकासशील देशमा पुर्‍याउन आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि तयारी पोशाक उद्योगले भोगिरहेका समस्या समाधान गर्न लागिपर्नेमा जोड दिनुभयो ।

छलफलमा सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *