सर्लाही, ६ साउन । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले नामिबियालाई १५८ रनको लक्ष्य दिएको छ ।
नेदरल्यान्ड्सको उट्रेचमा टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभर ५ रनमा १५७ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका कप्तान रोहित पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले ३० रन बनाए । नामिबियाका जेजे स्मितले ६ विकेट लिए ।
आजदेखि शुरू भएको त्रिदेशीय एकदिवसीय शृङ्खलामा आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन् ।
नेपालले दोस्रो खेल पर्सि साउन ७ गते आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि साउन ११ गते फेरि नामिबियासँग र साउन १३ गते नेदरल्यान्ड्ससँग खेल्ने छ ।
८ वटा देश सहभागी लिग–२ को तालिकामा नेपाल २४ अङ्कसहित पाँचौँ स्थानमा छ । नेदरल्यान्ड्स ३२ अङ्कसहित तेस्रो, नामिबिया २२ अङ्कसहित सातौँ स्थानमा छन् । तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्यान्ड र चौथोमा ओमान रहेका छन् ।
विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन शीर्ष चारभित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्त्वपूर्ण छन् । विश्वकप लिग–२ मा हरेक टोलीले ३६ खेल खेल्नेछन् ।
घरेलु मैदान कीर्तिपुरमा सम्पन्न पछिल्लो शृङ्खलामा नेपालले ८ मध्ये ६ खेल जितेको थियो । त्यही लयलाई निरन्तरता दिने लक्ष्यका साथ नेपाली टोली नेदरल्यान्ड्स पुगेको हो ।
नेपालले अझै ८ खेल खेल्न बाँकी रहेकाले शीर्ष चारमा पुग्ने सम्भावना कायम छ । यस्तै एकदिवसीय मान्यता जोगाउन भने शीर्ष ६ भित्र रहनुपर्छ ।
