सर्लाही, ६ साउन । महोत्तरीको बर्दिबासमा प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा बर्दिबास नगरपालिका-३ गौरीडाँडास्थित बीपी राजमार्गमा जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००७ ख ८२१ नम्बरको हायस गाडीमा चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा चालकको बायाँपट्टिको अन्तिम सिटमा बसेका भारतको बिहार राज्य, मधुवनी जिल्ला, मधवापुर ग्राम पञ्चायत-५ निवासी २४ वर्षीय राजा कुमार मण्डलमाथि शंका लागेपछि शरीर तलासी लिइएको प्रहरीले जनाएको छ ।

तलासीका क्रममा उनले बोकेको Parle Platina Nutricrunch Digestive Cookies बिस्कुटको डब्बाभित्र कालो प्लास्टिकमा बेरेर तीन वटा सेतो प्लास्टिकको प्याकेटमा लुकाइराखिएको अवस्थामा खैरो हिरोइनजस्तो देखिने अर्धठोस पदार्थ फेला परेको थियो। डिजिटल तराजुमा तौल गर्दा उक्त पदार्थको तौल प्लास्टिकसहित ३० ग्राम ७५० मिलिग्राम तथा प्लास्टिक बाहेक शुद्ध २६ ग्राम ९९० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, मण्डलले लगाएको पाइन्टको दाहिने खल्तीबाट भारतीय सिम प्रयोग भएको भिभो (Vivo) कम्पनीको एक थान मोबाइल फोन पनि बरामद गरिएको छ ।

बरामद लागूऔषध र मोबाइलसहित मण्डललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको छ । घटनासम्बन्धी लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *