सर्लाही, ६ साउन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हटाउने भनी प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत गरेको घोषणा सकारात्मक कदम भए पनि निर्णय गर्ने विधि नमिच्न आग्रह गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत महामन्त्री पाैडेलले सरकारले जनस्तरबाट विरोध भएपछि मात्र निर्णय सच्याउने प्रवृत्ति देखाएको भन्दै आलोचना गरेका छन् । उनले विधि र प्रक्रिया पूरा नगरी सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्नु अर्को कमजोरी भएको टिप्पणी गरेका हुन् ।
पौडेलले विगतमा यस्ता करसम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट लागू गर्ने अभ्यास रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्यसँगै अधिकांश नागरिकले उपभोग गर्ने विद्युत् महसुलमा लगाइएको थप कर पनि मन्त्रिपरिषद्को निर्णयमार्फत हटाउन आग्रह गरेका छन् ।
उनले संस्था र विधिभन्दा व्यक्ति हावी हुँदा विगतमा व्यवस्था नै संकटमा परेको स्मरण गराउँदै विधि मिचेर गरिने स्वेच्छाचारी निर्णयले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएको बताएका छन् ।
