सर्लाही, ७ साउन । डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदर तथा बँदेलबाट हुने कृषि बालीको क्षति न्यूनीकरण गर्न २० जना ‘बाँदर हेरालु’ नियुक्त गर्ने भएको छ । कार्यालयले ६ साउनमा पहिलोपटक सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
बाँदर तथा बँदेलबाट अति प्रभावित क्षेत्रका किसानको खेती जोगाउने तथा मानव-वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले हेरालु नियुक्ति कार्यक्रम सुरु गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख नारायणदेव भट्टराईका अनुसार वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन गरेका समूहहरूको लागत साझेदारीमा जिल्लाका बाँदर प्रभावित २६ क्षेत्रमा कृषि बाली संरक्षण तथा बाँदर व्यवस्थापनका लागि यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
इच्छुक नागरिकले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको कार्यालय प्रमुख भट्टराईले बताए ।
नियुक्त हुने हेरालुले बाँदर तथा बँदेलको नियमित निगरानी गर्ने, कृषकलाई समयमै सूचना दिने, आवश्यक समन्वय गर्ने तथा बाँदरबाट भएको बाली क्षतिको अभिलेख राखी सम्बन्धित वडा र वन कार्यालयलाई जानकारी गराउने जिम्मेवारी पाउनेछन् । साथै, बाँदरलाई मानवीय र वातावरणमैत्री तरिकाबाट खेतीयोग्य क्षेत्रबाट प्राकृतिक बासस्थानतर्फ धपाउने कार्यसमेत उनीहरूको जिम्मेवारीमा रहनेछ ।
हेरालुले १० साउनदेखि १० असोजसम्म दुई महिना काम गर्नुपर्नेछ । उनीहरूले मासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने कार्यालय प्रमुख भट्टराईले जानकारी दिए ।
डिभिजन वन कार्यालयले जारी गरेको सूचनाअनुसार हेरालु सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा, १८ देखि ४५ वर्ष उमेर समूहका तथा वन, वन्यजन्तु र जैविक विविधता संरक्षणमा रुचि भएका व्यक्ति हुनुपर्नेछ ।
सामुदायिक वन, वन हेरालु, नर्सरी हेरालु वा यस्तै प्रकृतिको काममा अनुभव भएकालाई प्राथमिकता दिइने वन कार्यालयले जनाएको छ ।
वर्षभरि पसिना बगाएर हुर्काएको बाली पाक्नेबेला जंगली जनावरको हुलले केही क्षणमै सखाप पारिदिने समस्या अहिले देशका अधिकांश पहाडी जिल्लाका किसानको साझा पीडा बनेको छ ।
बाली नष्ट हुने क्रम बढ्दै जाँदा किसानहरू आर्थिक रूपमा चिन्तित मात्र होइन, मानसिक रूपमा समेत निराश बन्दै गएका छन् । बाँदर र बँदेलले खेतीबाली नष्ट गर्नुका साथै घरभित्र पसेर थन्काइएको अन्नसमेत खाने तथा मान्छेलाई नै आक्रमण गर्ने गरेको स्थानीयको भनाइ छ ।
