सर्लाही, २६ भदाै । भोटेकोसी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड ३२ लाख १७ हजार पाँच सय रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनमा यसबारे उल्लेख छ। प्रतिवेदनअनुसार, बाढीबाट १८ वटा विद्यालय प्रभावित भएका छन् ।
बाढीले ११ वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने सात वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। यससँगै शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन् । बाढीपश्चात त्यस क्षेत्रमा नौ हजारभन्दा धेरै विद्यार्थीको पठनपाठन अबरुद्ध भएको छ ।
संरचना पुनर्निर्माण तथा पठनपाठन सहज पार्न तत्काल १० करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दीर्घकालीन पुनरुत्थानका लागि दुई अर्ब २३ करोड ८२ लाख १७ हजार पाँच रुपैयाँ लाग्नेछ ।
सरकारले प्रभावित विद्यार्थीका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ । नेपालका निजी स्कुलका विभिन्न पाँच वटा संस्थाले पनि सरकारको आग्रहमा बाढी प्रभावित विद्यार्थीलाई छात्रवृत्ति दिन एक अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन् ।
बाढीबाट प्रभावित भई विभिन्न ठाउँमा बसेका विद्यार्थीलाई तत्काल पठनपाठन सुचारु गर्नका निमित्त उनीहरूलाई पायक पर्ने विद्यालयमा नै व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहले सहजीकरण गरिरहेका छन् ।
