सर्लाही, ८ साउन । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा लगातार दोस्रो हार बेहोरेको छ । हिजो नेपाललाई घरेलु टोली नेदरल्यान्ड्सले ६ विकेटले पराजित गरेकाे हाे  ।

लगातार दोस्रो हारसँगै नेपालको शीर्ष चारमा रहने सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो ।

नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४ ओभर १ बलमा चार विकेट गुमाउँदै पूरा गरेकाे छ । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एड्वाड्र्सले अविजित ६१ रनको योगदान गरे । उनले ८२ बलमा दुई चौका र एक छक्का प्रहार गरे ।

यसैगरी, नोआ क्रसले अविजित ३४ तथा कार्डिक डे लांग र ज्याक लायन क्याचेटले २१–२१ रन बनाए । नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १५७ रन जोडेको थियो । नेपालका लागि आरिफ शेखले ४१, गुल्सनकुमार झाले २९, दीपेन्द्रसिंह ऐरीले २१, आसिफ शेखले १४, करण केसीले अविजित १३ र सोमपाल कामीले १० रन बनाए ।

नेदरल्यान्ड्सका लागि एलेक्स रोय र रोएलोफ भान डेर मर्वेले तीन–तीन, लोगन भान बिकले दुई तथा कायल क्लाइनले एक विकेट लिए । जितसँगै २९ खेलबाट ३४ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।

पराजित नेपाल ३० खेलबाट २४ अंकका साथ पाँचौँ स्थानमा छ । अब नेपालले साउन ११ गते सोमबार नामिबियासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *