सर्लाही, ८ साउन । महोत्तरीको बर्दिबासस्थित नाभ्या होटलका सञ्चालक सुधीरकुमार अग्रवाल सरकारी अनुगमन टोलीलाई अवरोध गरेको आरोपमा पक्राउ परेका छन्।

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण, स्थानीय प्रशासन र सुरक्षा निकायसहितको संयुक्त अनुगमन टोली शुक्रबार बिहान बर्दिवास–स्थित नाभ्या होटल पुगेको थियो।

अनुगमनका क्रममा होटल सञ्चालक अग्रवालले सरकारी टोलीलाई होटलभित्र प्रवेश गर्न नदिने, ताल्चा लगाइदिने धम्की दिने तथा मन्त्री महतोसहित सरकारी प्रतिनिधिप्रति अमर्यादित शब्द प्रयोग गरेपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका अग्रवाललाई हाल इलाका प्रहरी कार्यालय बर्दिवासको हिरासतमा राखिएको छ ।

यसैबीच, होटलको भान्सा निरीक्षणका क्रममा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्डविपरीत सडेगलेका तथा अखाद्य खाद्य सामग्री फेला परेको अनुगमन टोलीले जनाएको छ । खाद्य ऐन तथा स्वच्छता मापदण्ड उल्लंघन गरेको ठहर गर्दै सम्बन्धित निकायले होटललाई २० हजार रुपैयाँ जरिवाना समेत गरेको छ।

पछिल्लो समय मधेश प्रदेश सरकारले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने होटल, रेष्टुरेन्ट तथा खाद्य व्यवसायमाथिको अनुगमनलाई थप प्रभावकारी रुपमा अघि बढाइएको छ । राजमार्ग केन्द्रित होटलहरुको गुणस्तरीयमा निकै गुनासोहरु आएपछि सरकारले यो अभियानलाई कडाई र तीव्रताका साथ अघि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *