सर्लाही, १२ साउन । भूमि प्रशासन कार्यालय विराटनगरका कर्मचारीसँगको मिलेमतोमा मोही कायम रहेको जग्गाको अभिलेख कीर्ते गरी बिक्री गरिएको र त्यही जग्गा धितो राखेर एक करोडभन्दा बढी ऋण प्रवाह भएको तथ्य खुलेको छ ।

मोहीको नाम गायब पारेर नामसारी गरिएको जग्गामा २४ घण्टा नबित्दै रु. १ करोड ३० लाख ऋण लगानी हुनुमा बैंक, बिचौलिया र भूमि प्रशासन कार्यालय (साबिक मालपोत कार्यालय)को मिलेमतोको आशंका गरिएको छ ।

जग्गाको मूल स्रेस्तामा मोहीको नाम स्पष्ट रूपमा उल्लेख हुँदाहुँदै नयाँ खरिदकर्ताको लालपुर्जा तयार गर्दा मोहीको महल खाली राखिएको थियो । त्यसकै आधारमा सिटिजन्स बैंकको विराटनगर शाखाले असार ३१ गते उक्त जग्गा धितो राखी ऋण प्रवाह गरेको पाइएको छ । यो जग्गा असार ३० गते मात्रै भूमि प्रशासन कार्यालयबाट विराटनगरस्थित सन सप्लायर्सको नाममा नामसारी भएको थियो ।

के हो घटना ?

जहदा गाउँपालिका–५ (साविक मझारे–३) स्थित कित्ता नम्बर ८० को ४,२८० वर्गमिटर (१२ कट्ठा १५ धुर) जग्गामा अजबलाल केवट (दास) मोही थिए। जग्गाधनी रोमीदेवी चौधरीको नाममा रहेको लालपुर्जाको मोही महलमा केवटको नाम स्पष्ट देखिन्छ ।

रोमीदेवीका श्रीमान् दिलीपकुमार चौधरीले २०७९ सालमा उक्त जग्गा राजेन्द्रप्रसाद केवटसँग रु. १३ लाख ऋण लिएर धितोका रूपमा पास गरेका थिए । तर पछि उक्त जग्गा सन सप्लायर्सलाई बिक्री गर्दा राजेन्द्रप्रसादलाई कुनै जानकारी दिइएको थिएन ।

भूमि व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्थाअनुसार मोही रहेको जग्गामा मोहीको हक सुरक्षित नगरी वा मोहीको लगत कट्टा नगरी त्यस्तो जग्गा धितो राखेर ऋण प्रवाह गर्न पाइँदैन । तर यस प्रकरणमा मोहीलाई जानकारी नै नदिई लगत कट्टा गरी असार ३० गते रोमीदेवी चौधरीको नामबाट विराटनगरस्थित सन सप्लायर्सका सञ्चालक सचिन साह हलुवाईको नाममा राजीनामा पारित गरिएको थियो ।

जग्गा पास भएको भोलिपल्ट अर्थात् असार ३१ गते सिटिजन्स बैंकको विराटनगर शाखाले सोही जग्गा रोक्का राखेर रु. १ करोड ३० लाख ऋण प्रवाह गरेको छ । एकै दिनमा धितो मूल्याङ्कन, आवश्यक प्रक्रिया र ऋण स्वीकृति कसरी सम्पन्न भयो भन्ने विषयले शंका उत्पन्न गरेको छ ।

बैंकले एक करोड ३० लाख बराबर धितो मूल्याङ्कन गरेको उक्त जग्गाको वास्तविक बजार मूल्य भने करिब ३० देखि ३२ लाख रहेको स्रोतको दाबी छ । भूमि प्रशासन कार्यालयमा जग्गा पास गर्दा भने ठूलो (किनबेच मूल्य) रु. ४३ लाख ६५ हजार ६०० कायम गरिएको देखिन्छ ।

पछि सच्याइयो अभिलेख

मोहीको नाम हटाइएको विषयमा सञ्चारकर्मीले चासो राखेपछि भूमि प्रशासन कार्यालयले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको आरोप लागेको छ । कार्यालयको स्रेस्तामा रहेको मोहीको नाम–थर महलमा पछि हतारहतार डटपेनले ‘अजबलाल केवट’ थपिएको देखिएको छ ।

तर बैंकमा पेश गरिएको तथा बैंकले धितोका रूपमा स्वीकार गरेको लालपुर्जामा भने मोहीको नाम उल्लेख छैन । कीर्ते भएको विषय सार्वजनिक भएपछि मात्रै कार्यालयको मुद्रित अभिलेखमा हातले नाम थपिएको र त्यसपछि डिजिटल अभिलेखसमेत सच्याइएको स्रोतको दाबी छ ।

भूमि प्रशासन कार्यालय विराटनगरका गुनासो सुन्ने अधिकारी तथा अधिकृत ढाकाप्रसाद बरालले राजीनामा पारित गर्ने क्रममा प्राविधिक समस्याका कारण कमजोरी भएको बताए । नयाँ धनीपुर्जा पनि उनले नै जारी गरेका थिए ।

उनले सामान्य त्रुटि देखिएपछि सच्याइएको दाबी गरे । तर उनको दाबी तथ्यसँग मेल नखाने देखिन्छ । किनभने जग्गा पास गर्नुअघि भरिने ‘अनुसूची–१४’ को अनलाइन फाराममा समेत मोहीको नाम उल्लेख गरिएको थिएन, जसले नियतवश नाम हटाइएको आशंका बलियो बनाएको स्रोतको भनाइ छ ।

‘कार्यालयको अभिलेखमा हामीले सच्याएका छौं । उहाँ (खरिदकर्ता)सँग गएको लालपुर्जामा मोहीको विवरण छैन,’ बरालले भने । उनले जग्गा पास भएको भोलिपल्टै ऋण प्रवाह भएको विषय आफूलाई जानकारी रहेको पनि बताए ।

सिटिजन्स बैंक विराटनगर शाखाका प्रबन्धक प्रणव तिमिल्सिना सम्पर्कमा आउन चाहेनन् । बैंकका केन्द्रीय सूचना अधिकारी नारायणराज अधिकारीले भने सम्बन्धित फाइल अध्ययन गरेपछि मात्रै प्रतिक्रिया दिन सक्ने बताए ।

बिचौलियाको भूमिका

सन सप्लायर्सका सञ्चालक सचिन साहले बैंकबाट रु. १ करोड ३० लाख ‘पर्चेजिङ लोन’ लिएको स्वीकार गरे । ‘बैंकबाट १ करोड ३० लाख ऋण लिएको हो । यो पर्चेजिङ लोन हो,’ उनले भने, ‘जग्गा पास भएको भोलिपल्टै ऋण लिएको हुँ ।’

उनका अनुसार ऋण मिलाउने काम रंगेलीका अजय मण्डलले गरेका थिए । स्रोतका अनुसार भूमि प्रशासन कार्यालयबाट मोहीको नाम हटाउनेदेखि बैंकबाट ऋण स्वीकृत गराउनेसम्मको सम्पूर्ण प्रक्रिया मण्डलले नै मिलाएका थिए ।

यता, जग्गा बिक्रेता रोमीदेवी चौधरीको परिवारले भने एक करोड ३० लाख प्राप्त नगरेको स्रोतको दाबी छ । स्रोतका अनुसार जग्गा बिक्रीबापत उनीहरूले करिब ३० लाख मात्रै पाएका छन् ।

पुराना जग्गाधनी भन्छन्– ‘मिलाइदिन्छु भनेका छन्’

मोहीको विवरण लुकाएर गरिएको कारोबार गैरकानुनी र दण्डनीय मानिन्छ । सरकारी अभिलेखमा कीर्ते, हतारहतार ऋण प्रवाह गर्ने बैंकका कर्मचारी तथा बिचौलियाको भूमिकाका कारण रु. १३ लाख ऋणको धितोमा राखिएको जग्गाका सम्बन्धमा राजेन्द्रप्रसाद केवट अहिले समस्यामा परेका छन् ।

रोमीदेवी चौधरीको नामबाट सन सप्लायर्सको नाममा जग्गा पास भई रु. १ करोड ३० लाख ऋणसमेत निकालिएको जानकारी पाएपछि उनले प्रहरी चौकी मझारेमा निवेदन दिएका छन् ।

धनपालथान गाउँपालिका–७ निवासी दिलीपकुमार चौधरीले रु. १३ लाख ऋण लिएर पछि फिर्ता गर्ने सर्तमा धितो राखेको जग्गा अर्कै व्यक्तिलाई बिक्री गरेको भन्दै उनले उजुरी दिएका हुन् ।

उनको निवेदनमा भनिएको छ, ‘रोमीदेवी चौधरीलाई धितो नामसारी गरी दिएको जग्गा मलाई जानकारी नै नगराई तेस्रो पक्ष विराटनगर महानगरपालिका–१२ स्थित सन सप्लायर्सको नाममा पास गरिएको छ । उक्त जग्गामा मेरा ठूलोबुबा अजबलाल केवट (दास)को मोहीसमेत भएकाले सम्बन्धित पक्षलाई झिकाई आवश्यक कानुनी कारबाही गरिपाऊँ ।’

राजेन्द्रप्रसाद केवटका अनुसार उनले २०७९ असोज ९ गते रु. १३ लाख ऋणको धितोका रूपमा उक्त जग्गा रोमीदेवीलाई पास गरिदिएका थिए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘जग्गा अर्कैलाई बेचेको थाहा थिएन । अहिले मिलाएर जग्गा फिर्ता गरिदिन्छु भनेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *