सर्लाही, १५ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भागमा साधारणतया बदली रहेको छ भने मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ ।

कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति पनि देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको  सम्भावना  छ ।

मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

साथै, कोशी प्रदेशका पहाडी र तराई भू–भाग तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सम्बन्धित सबै पक्षलाई सचेत रहन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *