सर्लाही, १८ साउन । सर्लाहीकाे लालबन्दी नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गबाट करिब १०९ किलोग्राम गाँजासहित भारतीय नम्बर प्लेटको कार र दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार आज (सोमबार) बिहान करिब साढे ५ बजे बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बी.०९ एम. ३७६६ नम्बरको भारतीय कारलाई रोकी चेकजाँच गर्दा कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ वटा पोकाबाट प्लास्टिकसहित करिब १०९ किलोग्राम लागूऔषध गाँजा बरामद गरिएको हो ।

प्रहरीले कार चालक भारतको बिहार राज्य, सितामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो र सोही कारमा सवार सोही स्थानका २५ वर्षीय अमन कुमारलाई नियन्त्रणमा लिएको छ ।

बरामद गाँजा, कार तथा पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *