सर्लाही, २० साउन । नेपालले आफै बिजुलीका पोल उत्पादन गर्न थालेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकाअनुसार बाराको अमलेखगञ्जमा सञ्चालनमा आएको नयाँ पीएससी पोल प्लान्टले नेपालमै गुणस्तरीय विद्युत् पोल उत्पादन गर्न थालेको हो ।
हाल दैनिक ९ मिटरका ४० वटा र ११ मिटरका २४ वटा पीएससी पोल उत्पादन भइरहेको छ । मंगलबार १३ मिटर पीएससी पोलको नमुना परीक्षणका लागि पहिलो कास्टिङ पनि सम्पन्न भएको छ, जसले आगामी दिनमा अझ ठूलो क्षमताका पोलसमेत स्वदेशमै उत्पादन हुने आधार तयार गरेको ऊर्जामन्त्री श्रेष्ठले बताए ।
उनकाअनुसार यसअघि करिब ४० हजार रुपैयाँ पर्ने एउटा १३ मिटर पोल अब करिब २६ हजार ७०० मै उत्पादन गर्न सकिने भएको छ ।
यसले विद्युत् पूर्वाधार निर्माणको लागत उल्लेखनीय रूपमा घटाउने छ र सार्वजनिक स्रोतको अझ प्रभावकारी उपयोग सुनिश्चित गर्नेछ ।
मन्त्री श्रेष्ठ यसलाई ऊर्जा पूर्वाधारमा आत्मनिर्भरतातर्फ अर्को महत्वपूर्ण पाइला भनेर व्याख्या गर्छन् । ‘यो केवल एउटा पोल उत्पादन गर्ने उद्योग होइन; यो स्वदेशी उत्पादन, रोजगारी सिर्जना, आयातमा निर्भरता घटाउने र आत्मनिर्भर नेपालको ऊर्जा यात्रातर्फको महत्वपूर्ण कदम हो,’ मन्त्री श्रेष्ठ भन्छन्, ‘नेपालको ऊर्जा क्षेत्र अब केवल विद्युत् उत्पादनमा मात्र होइन, आवश्यक पूर्वाधार र सामग्री निर्माणमा पनि आत्मनिर्भर बन्दै अघि बढिरहेको छ ।’
