सर्लाही, २० साउन । मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्दा आज बिहानदेखि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।
सडकखण्डको चेनेज (२४+६५०) मा पहिरो खसेपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको सडक डिभिजन भरतपुर जनाएको छ ।
पहिरो हटाउन सडक डिभिजनको उपकरण कार्यस्थलमा परिचालन गरिसकिएको र अवरुद्ध सडक खुलाउन तीव्र रूपमा काम भइरहेको जनाइएको छ । डिभिजनका अनुसार सडक पूर्ण रूपमा सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ ।
सडक डिभिजनले उक्त सडकखण्ड भएर यात्रा गर्ने चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ ।
