सर्लाही, २१ साउन । सरकारले बढाएको कर्मचारीको तलब स्केल सार्वजनिक भएको छ । बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तलब स्केलमा १० प्रतिशत र प्रोत्साहनबापत थप १० प्रतिशत गरी २१ प्रतिशत तलब वृद्धिको घोषणा गरेका थिए ।
यसो हुँदा सामान्य खरिदार कर्मचारीको समेत मासिक कुल तलब न्यूनतम ४० हजार रुपैयाँ पुग्ने अर्थमन्त्री वाग्लेको दाबी थियो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तलब स्केल तालिकाअनुसार एक कर्मचारीको न्यूनतम १९१२ रुपैयाँदेखि अधिकतम् ५ हजार ६६२ रुपैयाँले तलब बढेको छ ।
तलब सुविधाअनुसार नेपाल सरकार कर्मचारीको उच्च ओहोदामा रहने मुख्यसचिवको मासिक तलब वृद्धिपछि कुल ९० हजार ५९४ रुपैयाँ पुगेको छ ।
सुरु तलबमान ८४ हजार ९३२ रुपैयाँ रहेकोमा तलब र प्रोत्साहनसहित दुई ग्रेड तबल सुविधा बढ्दा यति पुगेको हो । मुख्य सचिवको तल ग्रेड २ हजार ८३१ रुपैयाँले बढेको छ । सोही ग्रेडका आधारमा प्रधानसेनापतिको मासिक तलब पनि अब ९० हजार ५९४ रुपैयाँ पुगेको छ ।
प्रहरी महानिरीक्षकको तलब ८४ हजार ५७६ रुपैयाँ
तर प्रहरी सेवातर्फ भने प्रधान सेनापतिको तुलनामा महानिरीक्षक केही कम तलब रहेको छ । प्रहरीको उच्च पद प्रहरी महानिरीक्षकको तलब वृद्धिपछि कुल ८४ हजार ५७६ रुपैयाँ पुगेको छ ।
सुरु तलबमान ७९ हजार २९० रुपैयाँ रहेको महानिरीक्षकको तल ग्रेड २ हजार ६४३ रुपैयाँका दरले २ ग्रेड ५ हजार २८६ रुपैयाँले बढेर यति पुगेको हो ।
तर, सेनातर्फको कनिष्ठ सिपाही र प्रहरी जवानको तलब ग्रेड भने समान जम्मा ९५६ ग्रेडले १ हजार ९१२ रुपैयाँले बढ्दै ३६ हजार ३३८ रुपैयाँ पुगेको छ ।
