सर्लाही, २२ साउन । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा तापक्रम निरन्तर बढ्दै गएको छ । प्रत्येक वर्ष जेठ–असार लागेसंगै ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम सामान्य बन्दै गएको छ ।
चर्को गर्मीले दैनिक ज्यालादारी मजदुर, सडक व्यापारी, किसान तथा खुला आकाशमुनि काम गर्ने श्रमिकहरूको जनजीवन कष्टकर बनाएको छ भने यसले प्रदेशको अर्थतन्त्र, जनस्वास्थ्य र पूर्वाधारमा समेत गम्भीर असर पार्न थालेको छ ।
जनकपुरधाम, वीरगञ्ज, कलैया, गौर, मलंगवा, जलेश्वर, लहान र राजविराजलगायतका मधेशका अधिकांश जिल्लामा गर्मीका कारण दिउँसो सडकहरू सुनसान देखिन थालेका छन् ।
चर्को घामका कारण मानिसहरू घरबाहिर निस्कन कम भएपछि सडक किनारमा व्यापार गर्ने साना व्यवसायीहरूको आम्दानी उल्लेख्य रूपमा घटेको छ ।
दैनिक कमाएर खाने वर्गका लागि गर्मी अहिले जीविकोपार्जनकै चुनौती बनेको छ । मधेशको सहरी क्षेत्रहरू पनि तीव्र गतिमा तातिँदै गएको छ ।
बाक्लो बस्ती, कंक्रिटका संरचना र घट्दो हरियालीका कारण जनकपुरधाममा यसको प्रभाव प्रस्टरुपमा देख्न थालेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ए लाइभेबल फ्युचरः प्रोटेक्टिङ जब्स एन्ड ग्रोथ फ्रम एक्सट्रिम हिट इन साउथ एसियाज सिटिज- २०२६’ प्रतिवेदनले नेपाल दक्षिण एसियामै तीव्र गतिमा तापक्रम बढिरहेका मुलुकमध्ये एक रहेको जनाएको छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार नेपालको औसत तापक्रम पूर्वऔद्योगिक कालको तुलनामा १.२६ डिग्री सेल्सियसले बढिसकेको छ भने यही अवस्था कायम रहे शताब्दीको अन्त्यसम्म थप २.८ डिग्री सेल्सियसले वृद्धि हुने अनुमान गरिएको छ ।
सो प्रतिवेदनले तराई क्षेत्र, विशेषगरी मधेश प्रदेश, अत्यधिक गर्मीको उच्च जोखिममा रहेको उल्लेख गरेको छ । तापक्रम वृद्धिसँगै तातो लहर -हिट वेभ) को अवधि लम्बिँदै गएको छ । जसले कृषि, निर्माण तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको कार्यक्षमता घटाइरहेको छ ।
मधेशको अर्थतन्त्र मुख्यतः कृषि, साना व्यापार तथा श्रममा आधारित छ । अत्यधिक गर्मीका कारण खेतबारीमा काम गर्ने समय छोटिँदै गएको छ भने निर्माण क्षेत्रमा पनि कामको गति सुस्त भएको छ।
गर्मीका बेला श्रमिकहरू चाँडै थाक्ने, बिरामी पर्ने वा काम नै रोक्नुपर्ने अवस्था आउँदा उत्पादनशीलता घट्दै गएको छ । प्रतिवेदनका अनुसार तातो लहरका बेला अनौपचारिक क्षेत्रका मजदुरहरूको आम्दानी करिब ४० प्रतिशतसम्म घट्न सक्छ । अत्यधिक गर्मीले कृषि उत्पादनमा पनि प्रत्यक्ष असर पारिरहेको छ ।
अत्यधिक तापक्रम र पानीको अभावका कारण धान, मकै, तरकारी तथा फलफूल उत्पादन प्रभावित हुन थालेको छ । यसले खाद्य सुरक्षा र किसानको आय दुवैमा दबाब सिर्जना गरिरहेको छ । जनस्वास्थ्यका दृष्टिले पनि अवस्था चिन्ताजनक बन्दै गएको छ ।
लामो समयसम्म चर्को घाममा बस्दा लू लाग्ने, शरीरमा पानीको कमी हुने, मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या बढ्ने जोखिम उच्च हुन्छ । बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घरोगीहरू सबैभन्दा बढी जोखिममा छन् ।
स्वास्थ्य संस्थाहरूमा गर्मीजन्य बिरामीको संख्या बढ्न थाले पनि प्रभावकारी पूर्वसूचना प्रणाली र पर्याप्त तयारी अझै कमजोर देखिन्छ ।
बढ्दो तापक्रमसँगै विद्युत् खपत पनि तीव्र रूपमा बढिरहेको छ । पंखा, कूलर र एयर कन्डिसनरको प्रयोग बढेपछि विद्युत् प्रणालीमा थप दबाब परेको छ ।
अर्कोतर्फ कालोपत्रे सडक, कंक्रिटका संरचना र हरियालीको अभावले मधेशका सहरहरू थप तातिरहेका छन् । रातिको समयमा समेत तापक्रम उच्च रहँदा मानिसहरूको शरीरले पर्याप्त विश्राम पाउन सक्दैन ।
जसले स्वास्थ्य जोखिम झन् बढाउँछ । जलवायु परिवर्तनका क्षेत्रमा अध्ययन गर्दै आएका विज्ञहरूका अनुसार अहिलेको चुनौतीसँग जुध्न दीर्घकालीन तयारी आवश्यक छ ।
सहरहरूमा हरियाली विस्तार, सार्वजनिक स्थलमा छायाँयुक्त संरचना निर्माण, सुरक्षित खानेपानीको व्यवस्था, गर्मी सहन सक्ने भवन निर्माण, प्रभावकारी पूर्वसूचना प्रणाली तथा बाहिर काम गर्ने श्रमिकका लागि सुरक्षात्मक मापदण्ड लागू गर्नुपर्ने आवश्यकता बढेको छ ।
विश्व बैंकले पनि सार्वजनिक स्वास्थ्य, ऊर्जा, यातायात, सामाजिक सुरक्षा र सहरी योजनामा गर्मी अनुकूलनका कार्यक्रम समावेश गर्न सरकारलाई सुझाव दिएको छ ।
कम लागतका उपायहरू-जस्तै रूख रोप्ने, छायाँयुक्त बसपार्क निर्माण गर्ने, पैदलमार्ग सुधार गर्ने तथा सार्वजनिक स्थानमा पिउने पानीको व्यवस्था गर्नेले पनि गर्मीको प्रभाव कम गर्न सक्ने प्रतिवेदनको निष्कर्ष निकालिएको छ ।
मधेश प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्र जनकपुरधामलगायतका स्थानमा छायाँयुक्त पदमार्ग, पानीका स्रोत, हरियाली तथा तापमैत्री पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
यसले स्थानीय बासिन्दासँगै पर्यटकको सुरक्षामा पनि सहयोग पुग्ने विश्वास गरिएको छ । बढ्दो तापक्रमले जनस्वास्थ्य, रोजगारी, कृषि, ऊर्जा र समग्र अर्थतन्त्रसंग जोडिएको चुनौती देखिन्छ ।
