सर्लाही, २३ साउन । पर्साको वीरगन्ज–१४ स्थित एक पेट्रोल पम्पमा हवाई इन्धन बोकेको ट्यांकरबाट तेल चोरी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार विशेष सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–१४ स्थित सौदागर आयलमा छापा मारिएको थियो ।
छापा मार्दा ना.७ ख १५३९ नम्बरको हवाई इन्धन बोकेको ट्यांकरबाट ग्यालिनमा तेल भर्दै गरेको अवस्थामा उनीहरूलाई फेला पारिएको प्रहरीले जनाएको छ ।
चोरी तथा बिक्रीवितरणमा संलग्न रहेको आरोपमा पेट्रोल पम्पका सञ्चालक र कर्मचारीसहित सात जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा पेट्रोल पम्पका सञ्चालक सुनैन मियाँ, कर्मचारी असलम हवारी, वीरगन्ज–११ का रफिक मियाँ, हेटौँडा–११ का सन्देश रानामगर, हेटौँडा–१० का केशरराम सुनार, हेटौँडा–१४ का मन्दसिंह लामा र उमेश रानामगर रहनुभएको छ।
प्रहरीका अनुसार हवाई इन्धन बोकेको ट्यांकरमा लगाइएको सिलसमेतलाई फलामको पाइपको हुक प्रयोग गरी माथि सारेर ग्यालिनमा इन्धन भर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता मल्लले बताउनुभयो ।
