सर्लाही, २३ साउन । अमेरिकी क्रिकेटर हर्मीत सिंह नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कप्तानका रूपमा जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् ।

जनकपुरले शनिबार सामाजिक सञ्जालमार्फत हर्मीतलाई अनुबन्ध गरेको जानकारी दिँदै उनलाई टोलीको कप्तान समेत घोषणा गरेको हो ।

बाँयाहाते स्पिन बलिङ अलराउन्डर हर्मीतले एनपीएलका सुरुवाती दुई संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । उनले दुवै संस्करणमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए।

हर्मितले पहिलो संस्करणमा पाँच खेल खेल्दै २८ रन बनाउनुका साथै आठ विकेट लिएका थिए । दोस्रो संस्करणमा भने उनले ब्याटिङमा १६६ भन्दा बढीको स्ट्राइक रेटमा नौ खेलबाट १३३ रन बनाएका थिए । बलिङतर्फ उनले ६.१८ को इकोनोमीमा १२ विकेट लिएका थिए ।

भारतीय टोलीबाट सन् २०१२ को यू-१९ विश्वकप उपाधि जितेका हर्मीत हाल अमेरिकी राष्ट्रिय टोलीबाट खेल्छन् । उनले २९ टी–२० आई खेलमा ३१ विकेट लिनुका साथै २४२ रन बनाएका छन् ।

जनकपुरले पहिलो संस्करणमा अनिल साहको कप्तानीमा एनपीएलको उपाधि जितेको थियो । दोस्रो संस्करणमा अनिलसँगै दक्षिण अफ्रिकाका वायन पार्नेल र नामिबियाका जान निकोल लोफ्टी–इटनले टोलीको नेतृत्व गरेका थिए ।

जनकपुरका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले नयाँ ऊर्जा, सोच र संकल्पसहित अघि बढ्ने तयारीमा हर्मितलाई कप्तानीको जिम्मेवारी दिइएको बताए ।

‘हरेक सफल टोलीको आधार केवल उत्कृष्ट खेलाडीमात्र होइन, सशक्त नेतृत्व पनि हो। नयाँ सिजनसँगै जनकपुर बोल्ट्स नयाँ ऊर्जा, नयाँ सोच र नयाँ संकल्पका साथ अगाडि बढ्ने तयारी गरिरहेको छ। यही यात्राको नेतृत्व गर्ने जिम्मेवारी हामीले हर्मितलाई सुम्पिएका छौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *