सर्लाही, २९ साउन । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको ‘राष्ट्रिय भेला’ आजदेखि सुरु हुँदैछ । 

शुक्रबार बिहान ११ बजे काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा उद्घाटन हुने ‘राष्ट्रिय भेला’ साउन ३१ गतेसम्म चल्ने कार्यतालिका छ । 

साढे ५ महिना सिंगापुर–हङकङ बसेर बिहीबार मात्रै स्वदेश फर्किएका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर इतर पक्षले राष्ट्रिय भेला गर्न लागेको हो ।

गत पुस २७–३१ मा सम्पन्न विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापामाथि दबाब बढाउन देउवा पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो ।

पूर्वमहामन्त्री शशांक कोइरालाको अध्यक्षतामा हुने राष्ट्रिय भेलामा नेताहरू शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला लगायतलाई विशिष्ठ अतिथिका रूपमा आसन ग्रहण गराउने तयारी छ । 

भेलामा ४५ सय नेता–कार्यकर्ताको सहभागिता रहने भेलाका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले बताए। राष्ट्रिय भेला स्थलमा करिब ५५ सय कुर्सीको व्यवस्था मिलाइएको छ । मञ्चमा निवर्तमान सभापति देउवा र भेलाका संयोजक शशांक कोइरालालाई विशेष कुर्सीको व्यवस्था गरिएको छ । 

उद्घाटन सत्रमा अतिथिहरूको भाषणा सुन्न मन्चको अगाडिपछाडि गरी ६ वटा डिजिटल बोर्ड राखिएको छ। 

राष्ट्रिय भेलाका प्रतिनिधिलाई ओमसाई क्याटरिङले दुई दिनको खाना खुवाउने छ । भेलाको भोजन व्यवस्थापन उपसमितिका संयोजक पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले शनिबार र आइतबार मात्र खानाको व्यवस्था गरिएको बताए । 

पार्टीको आधिकारिता विवादमा पुनः सुनाइका लागि सर्वोच्च अदालतले साउन २१ मा निस्सा दिएपछि भेलालाई नीति सम्मेलन र शक्ति प्रदर्शनका रूपमा मात्र सीमित राख्ने इतर पक्षका नेताहरूले बताएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *