सर्लाही, ३१ साउन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ सिंगाहास्थित श्री न्यू लाइफ इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका प्रधानाध्यापक भरत न्यौपाने एक बालिकामाथि बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार शनिबार इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी परेपछि न्यौपानेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
उनलाई इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ । आइतबार अदालतमा उपस्थित गराई म्याद थप गरेर अनुसन्धान अघि बढाइने थापाले जानकारी दिए ।
थापाका अनुसार यसअघि पनि साउन २७ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा यस विषयमा सामान्य निवेदन परेको थियो । उक्त निवेदनका आधारमा आरोपितको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो ।
पीडित बालिकाले प्रधानाध्यापकले आफूलाई विगत करिब ६ महिनादेखि विभिन्न प्रलोभन देखाउँदै मोबाइलमा यौनजन्य तथा अश्लील संवाद गर्ने गरेको आरोप लगाएकी छन् ।
उनका अनुसार राति मोबाइलमा सन्देश पठाउने र जवाफ नदिए भोलिपल्ट विद्यालयमा बोलाएर विभिन्न प्रलोभन देखाउने तथा यौनजन्य चाहना व्यक्त गर्ने गरिएको थियो ।
बालिकाका बुवाले छोरीले पटक–पटक फोन नउठाउँदा प्रधानाध्यापकले आफूलाई फोन गर्ने र छोरीसँग कुराकानी गर्ने गरेको बताएका छन् । पछि आफूले यसबारे जानकारी पाएपछि विद्यालयमा पुगेर प्रधानाध्यापकसँग कुरा गरेको उनको भनाइ छ ।
‘शिक्षकजस्तो मान्य व्यक्तिलाई विश्वास गरेर छोरीलाई फोन दिन्थेँ । तर उहाँले गलत उद्देश्यले फोन गर्ने गरेको रहेछ,’ उनले भने । छोरीले लामो समयदेखि भएको व्यवहारबारे आफूलाई जानकारी गराएपछि घटनाबारे थाहा भएको उनले बताए ।
पीडित बालिकाले विद्यालयमा आफ्ना साथीहरूलाई घटनाबारे बताएपछि बुधबार विद्यार्थीहरूले विद्यालयमा विरोधसमेत गरेका थिए । विरोध चर्किँदै गएपछि विद्यालय प्रशासनले प्रहरीलाई खबर गरेको एक अभिभावकले बताएका छन् ।
विद्यालय प्रशासनले भने प्रधानाध्यापकको मोबाइल ह्याक भएको दाबी गर्दै प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धी निवेदन दिएको जनाएको छ ।
न्यौपाने र पीडित बालिकाबीच भएको भनिएको संवाद प्रहरीको अनुसन्धानमा रहेको छ । प्राप्त संवादको विषयमा बालिकाको गोपनीयता र कानुनी प्रावधानलाई ध्यानमा राख्दै विवरण सार्वजनिक गरिएको छैन ।
स्थानीयले विद्यालयमा यसअघि पनि यस्तै प्रकृतिका घटना हुने गरेको दाबी गरेका छन् । उनीहरूले विगतका घटनाहरू विद्यालयमै गुपचुप रूपमा मिलाउने गरिएको आरोपसमेत लगाएका छन् । यद्यपि, ती आरोपबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
प्रहरीले पक्राउ परेका प्रधानाध्यापकविरुद्ध लागेको आरोपबारे अनुसन्धान अघि बढाएको जनाएको छ । दोषी वा निर्दोष ठहर गर्ने विषय भने अनुसन्धान र न्यायिक प्रक्रियाबाट टुंगो लाग्नेछ ।
