सर्लाही, ३१ साउन । सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा घर फोडेर नगद तथा गहना चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार स्थानीय सुरेश तामाङको काठको दुईतले घरको माथिल्लो तलामा रहेको दराजको ताल्चा फुटाएर नगद र सुनचाँदीका गहना चोरी भएको थियो । घटनाबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको टोलीले अनुसन्धान थालेको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा नवलपुरकै २५ वर्षीय कुमार लोप्चन र ३२ वर्षीय रमेश तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ । सोधपुछका क्रममा उनीहरूको बयानका आधारमा चोरी गरिएका अधिकांश सामान स्थानीय हरि तामाङको भत्किएको पुरानो घरमा माटोमुनी गाडेर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले नगद ११ हजार १ सय रुपैयाँ, करिब २.५ तोलाको चाँदीको ब्रेसलेट, २ तोलाको चाँदीको सिक्री तथा ७.५ तोलाका पाँच थान चाँदीका बाला बरामद गरेको जनाएको छ ।

बरामद सामानको अनुमानित मूल्य ५६ हजार ४२० रुपैयाँ रहेको छ । यद्यपि पाँच आनाको सुनको एक थान मुन्द्रा र २.५ तोलाको एक थान चाँदीको बाला भने अझै फेला नपरेको प्रहरीले जनाएको छ ।

ती सामानको अनुमानित मूल्य १ लाख ११ हजार ७ सय ७५ रुपैयाँ रहेको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *