सर्लाही, ०२ भदाै । सरकारले डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन आग्रह गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत व्यापार–व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई विभागको अनलाइन पोर्टलमा सूचीकृत हुन निर्देशन दिएको हो ।

विभागले विद्युतीय व्यापार ऐन, २०८१ तथा विद्युतीय व्यापार निर्देशिका, २०८२ बमोजिम आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मात्रै अनलाइन कारोबार गर्न आग्रह गरेको छ ।

कानुनी प्रक्रिया पूरा नगरी डिजिटल माध्यमबाट व्यापार सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

पछिल्लो समय अनलाइन कारोबारमा उपभोक्ता ठगी, गुणस्तरहीन वस्तुको बिक्री तथा कारोबारसम्बन्धी गुनासो बढ्दै गएपछि सरकारले डिजिटल व्यापारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन दर्ता प्रक्रियामा कडाइ गर्न थालेको हो ।

विभागका अनुसार कम्प्युटर, मोबाइल वा अन्य विद्युतीय उपकरण प्रयोग गरी वेबसाइट, एप्लिकेसन, इन्टरनेट, इन्ट्रानेट, सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन मार्केटप्लेसमार्फत वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायी सूचीकृत हुनुपर्नेछ।

विभागले अनलाइन व्यापारलाई कानुनी दायरामा ल्याउँदै व्यवसायीको पहिचान स्पष्ट गर्ने र उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयनमा ल्याइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *