सर्लाही, ०३ भदौ । सर्लाहीको कौडेना गाउँपालिका–१ लक्ष्मीपुरस्थित बासबारीमा भुस राख्ने घरमा लुकाएर राखिएको करिब तीन क्विन्टल लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय बिजन पटेलको टाली र बाँसले बनेको भुस राख्ने घरमा खानतलासी गरेको थियो ।
सो क्रममा घरभित्र १५ बोरामा लुकाएर राखिएको करिब ३०० किलोग्राम गाँजा फेला परेको हो ।
प्रहरीका अनुसार बरामद गाँजा कसको हो भन्ने खुलेको छैन । घरधनी बिजन पटेल भने प्रहरी टोली पुगेपछि फरार भएकाले उनको खोजी भइरहेको छ ।
बरामद गाँजा नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
